काठमाडौँ। राष्ट्रिय खेलाडी कल्याणकारी कोषले चार खेलाडीलाई आज उपचार खर्च प्रदान गरेको छ।
कोषले एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका चार खेलाडीलाई कूल रु चार लाख सहयोग प्रदान गरेको हो।
कोषले एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी स्व रविनकुमार राईको परिवारलाई रु एक लाख सहयोग गरेको छ। सहयोग रकम राईकी धर्मपत्नी मन्जु श्रेष्ठ राईलाई हस्तान्तरण गरिएको थियो। क्यान्सरबाट पीडित पूर्वराष्ट्रिय खेलाडी राईको गत साउन १९ गते निधन भएको थियो।
यस्तै कोषले बास्केटबलकी सविता खड्कालाई रु एक लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई रु एक लाख तथा कबड्डीकी मनिषा विष्टलाई रु ७५ हजार सहयोग गरेको छ। तीनै जना घुँडाको समस्याबाट पीडित छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव एवं कोषका अध्यक्ष रमेशकुमार सिलवालले उहाँहरुलाई चेक हस्तान्तरण गरे।
समस्यामा परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले कल्याणकारी कोष, २०६८ सालमा स्थापना गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं कोषका सदस्य–सचिव दीपक श्रेष्ठले जानकारी दिए।
कोषमा जम्मा गरिएको रकमको व्याजबाट समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गरिँदै आएको छ।