चिनियाँ गाडीले नेपालसम्म नै सामान ल्याउन थाले

रसुवा। चिनियाँ मालवाहक गाडीले नेपालसम्म नै सामान ल्याउन थालेका छन्। चिनियाँ गाडीले चीनको स्वशासित क्षेत्र तिब्बतको पाङसिङबाट सिधै नेपालसम्म सामग्री आयात गर्न थालेका हुन्। कोभिड–१९ का कारण यसअघि चिनियाँ गाडीले मितेरी पुल पारी नै सामान झारेर फर्कने गरेका थिए।

रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार आइतबार पाँच वटा चिनियाँ गाडीले नेपालको भूभागमै सामान ल्याएर झारेका छन्। उनका अनुसार यसअघि दैनिक चार वटा गाडी आउने गरेकोमा आइतबार पाँच वटा आएको हो।

त्यसैगरी रसुवागढी नाकामा कार्यरत नेपाली कामदारको चिनियाँ पक्षले पीसीआर परीक्षण सुरु गरेको छ। कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै चिनियाँ पक्षले नाकामा कार्यरत कामदार तथा चालकको सातरसात दिनमा पीसीआर परीक्षण गर्नेछ।

अन्य सम्बन्धित समाचार:  दलित पत्रकार सङ्घको महाधिवेशन फागुन २८ मा

नाकामा अहिले चालक र कामदार गरी ४९ जना नेपाली कार्यरत छन्। सुरुमा चिनियाँ पक्षले नेपाललाई पीसीआर परीक्षण गर्न आग्रह गरेको थियो। नेपालले प्रत्येक हप्ता जाँच गर्न नसकिने बताएपछि चीन आफैले परीक्षण गर्न थालेको हो। रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, विद्युतीय सामान, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ।

यस्तै नेपालबाट बाँसको मुढा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ। तर पछिल्लो समय चिनियाँ पक्षले निर्यातको लागि अनुमति दिएको छैन।