बैतडी: किशोरी बलात्कार प्रकरणका ५ आरोपी पुर्पक्षका लागि जेल चलान 

दीपक सि‌ंह महरा, बैतडी। बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कार प्रकरणमा पक्राउ परेका ५ जना आरोपीलाई कारागार चलान गरिएको छ। जिल्ला अदालत बैतडीले बलात्कार आरोपी पाँचै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाले उनीहरूलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

उनले भने ‘हामीले अनुसन्धान सकाएर आरोपीहरूलाई अदालतमा पेश गरेका थियौं। अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। यो प्रहरीका लागि पनि सफलता हो।’

किशोरी बलात्कार प्रकरणमा पक्राउ परेका सिगास गाउँपालिका ८ का रामसिंह बोहरा, खडक बोहरा, केशव बोहरा, दानसिंह बोहरा र एकजना नाम नखुलाइएको व्यक्तिलाई कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए। एकजना किशोरीका आफन्त पर्ने भएकाले नाम नखुलाएको प्रहरी श्रोतले जनाएको छ।

सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरीलाई पटक पटक बलात्कार गरेको किशोरीले बच्चा जन्माएपछि मात्र बाहिर आएको थियो। विवाह गरेर गएको घरमा किशोरीले ६ महिनामै बच्चा जन्माएपछि किशोरीमाथि बलात्कार भएको आशंका गरिएको थियो।

बलात्कारको घटना बाहिर आएपछि सो घटनामा संलग्न ३ जनालाई पहिलो चरणमा र थप दुई जनालाई दोश्रो चरणमा गरेर प्रहरीले भदौ अन्तिम साता पक्राउ गरेको थियो। पीडित किशोरीलाई अहिले जिल्ला अस्पताल बैतडीको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ।

अन्य सम्बन्धित समाचार:  कालङ्गा जलविद्युत् आयोजना ९० प्रतिशत सम्पन्न