काठमाडौं। नेकपाका महासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी बुटवलबाट दाङ सार्ने निर्णयमा सहमति जनाएको भन्दै दुई अध्यक्षसँग असन्तुष्टि व्यक्त गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको बैठकमा उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्।
उक्त निर्णय पुनर्विचार गर्न पनि उनले अध्यक्षद्वयसँग माग गरेका छन्। बालुवाटारको बैठकमा दुई अध्यक्ष र महासचिव पौडेलसहित प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा सहभागी थिए।
दुवै अध्यक्षले भने प्रदेश राजधानी तोक्ने अधिकार प्रदेशसभामा रहेको बताएका थिए।
भालुवाङमा राजधानी तोक्ने प्रदेश ५ को निर्णयको विरोधमा बुटवलमा आन्दोलन भइरहेको छ।