भक्तपुरको तलेजुमा बडादशैंमा बलि नदिइने

Prabhu Bank

भक्तपुर।

Saftey Pads

यस वर्षको बडादशैंँमा भक्तपुरको तलेजु मन्दिरभित्र बलि नदिने भएको छ। भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज बसेको जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीसहितको बैठकले कोरोना महामारीका कारण तलेजुमा विधिपूर्वक पूजा गर्ने तर बलि नदिइने निर्णय गरेको हो।

भक्तपुरमा तलेजुमा सर्वसाधारणले बाहेक सरकारीस्तरमा गुठी संस्थानले मात्र बडादशै‌ अवधिमा ६० बोका, ३१ राँगा र ३० हाँस बलि दिने प्रचलन छ। बैठकले विजयादशमीका अवसरमा यस वर्ष भक्तपुरको तलेजु मन्दिर परिसरभित्र हुने सबै प्रकारका पूजामा बलि नदिइने र तलेजु भवानीको पूजा स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गरी विधिपूर्वक सामान्य मात्र गरी सीमित गरिने निर्णय गरेको हो।

त्यस्तै घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्म नगरका विभिन्न शक्तिपीठमा हुने मेला, पूजा र नवरात्रका समयमा बाजा लिई वा नलिई कुनै किसिमले भीड हुने गरी मन्दिरमा नजानका लागि जनतालाई आह्वान गर्ने निर्णयसमेत गरिएको छ। बैठकले दशैंँ अवधिभर तलेजु परिसरमा पूजासँग सम्बन्धितबाहेक अन्य नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। नगर प्रमुख प्रजापतिले जात्रा र पर्वलाई औपचारिकतामा सीमित गरी मनाइने निर्णयमा जनताको साथ र सहयोग रहने विश्वास व्यक्त गरे।

Maruti Cement