सप्तरी: एक कोरोना संक्रमितको मृत्यु, मृतककाे सङ्ख्या १९ पुग्याे

शुभ नारायण यादव, सप्तरी। कोरोना संक्रमितबाट सप्तरीमा थप एक जनाको  मृत्यु भएको छ। सप्तरीको राजगढ गाउँपालिका–४, छातापुर पुर्ख्यौली घर भई तीन दशकदेखि राजविराज नगरपालिका-६ सिरहा रोडमा किराना व्यापार गरी बसेका ६७ वर्षीय एक पुरुषको मृत्यु भएको हाे।
राविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारपछि डिस्चार्ज भई घर गएका उनको परीक्षणमा उनकाे कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिण्टेण्डेण्ट डा. रणजितकुमार झाले अस्पतालको प्रि-आइसोलेशन वार्डबाट परिवारका सदस्यहरुले घरमै आइसोलेसनमा राख्ने भनी लगेकोमा अचानक मृत्यु भएको खबर आएको जानकारी दिए।
स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उनलाई पुनः अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको परिवारजनले बताएका छन्। राजगढ गाउँपालिकास्थित मुतनी नदीको किनारमा नेपाली सेना, प्रहरीको उपस्थितिमा मृतकका छोराले शवमा दागबत्ती दिएको राजगढ गाउँपालिका–४ का वडाअध्यक्ष हेमनारायण साहले जानकारी दिए।
यो समेत सप्तरीमा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ भने संक्रमितको सङ्ख्या १ हजार ३५७ पुगेको छ। यीमध्ये १ हजार ९५ जना निको भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
अन्य सम्बन्धित समाचार:  अस्ट्रेलियाकाे मेलबर्नमा झण्डै ४ महिनापछि लकडाउन अन्त्य
Maruti Cement