कविता: न्याय हराएकाहरू…

Prabhu Bank

 

Saftey Pads

दसकौँ अघि एक दिन

सत्ता लुट्ने दासी सिंहहरूले

कान्छा छोरालाई अपहरण गरी चिथोरेपछि

साहाराविहीन भएका हुन् नन्दप्रसाद

सन्तानविहीन भएकी हुन् गंगामाया !

 

त्यसै बेलादेखि आफ्नै देशभित्र

भीख मागिरहेछिन् अनागरिक भएर गंगामाया

त्यागे प्राण नन्दप्रसादले न्यायको भीख माग्दा माग्दै।

न्यायका अ–राज्यको पेटीमा

देखेन अन्धो राज्यले उनको मृत्यु।

सुनेन न्यायका वाणी।

मरेको होइन नन्दप्रसाद,

मारेको हो राज्यले न्यायको ओखतीको अभावमा।

उसैगरी मर्दै बाँच्दै

न्याय हराएको देश खोजिरहेछिन् गंगामाया

 

तर किन अ–नागरिकझैं भइन् उनी?

यदि ऊ पनि यो देशकी नागरिक हुन् भने

खै कहाँ छ गंगामायाको देश?

यदि देशमा लोकतान्त्रिक न्यायालय छ भने

खै किन मौन छन्?

जनताका करले पोसिएका न्यायालयहरू

खै किन गायब छ?

नन्दप्रसाद र गंगामायाको न्यायको फायल !

अझै दाहसंस्कारको अभावमा

न्याय खोजिरहेछन् नन्दप्रसाद ,

मैना सुनार र निर्मलाहरू जस्ताका लाशहरूले।

 

ए न्यायालयका श्रीपेचहरू हो!

न्याय दिन सक्दैनौ भने

फैसला गरिदेओ गंगामाया र गोविन्दहरू जस्तालाई

फाँसी झुण्ड्याउने घोषणा

यदि देशद्रोहीका रुपमा न्याय खोजेका भए।

होइन न्याय पाउँछन् भने

किन मार्न चाहन्छौ तड्पाएर

एक टुक्रा न्यायको फैसलाको लोभमा

यदि गंगामाया यो देशकी अ–नागरिक हो भने

उसको पनि देश छैन।

 

न्यायका तराजुले उसको फैसला

दिन सक्दैन भने

उसको टुहुरो राज्यमा न्यायालयहरू पनि

जिउँदो लाशभन्दा पर्तिर छैनन्

कथम कदाचित् गंगामाया र गोविन्दहरू

न्यायको लडाइँमा लड्दा लड्दै मरे भने

जुठो लाग्दैन न्यायालयलाई

तर सिङ्गो देशका जनताहरू बिनान्याय टुहुरा बन्नेछन्।

 

बरखी बार्नु पर्दैन देशले।

गंगामाया र गोविन्दहरूका नाममा

बरखी बारिरहने छ इतिहासले।

गंगामाया र गोविन्दको प्राणको अन्तिम दिन

न्यायको भीख मागिरहेका हुनेछन् न्यायालयहरूले

न्यायको अभावले प्राण त्यागेका

मृत आत्माहरूसँग!!

Maruti Cement