ललितपुरका साइक्लिङ ट्रेल: प्रचारप्रसार गर्न सके प्रचुर सम्भावना छ

Prabhu Bank

निर्मल विष्ट। मानिस र प्रकृतिको विशिष्ट सम्बन्ध रहेको छ। यो सम्बन्धलाई सन्तुलित राख्न मानिसको क्रियाकलापले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। एक अर्काको पूरकको रुपमा रहेको यस सम्बन्धलाई जोड्न साइक्लिङ एउटा माध्यम बनिरहेको छ।

Saftey Pads

विश्वमा शक्तिशाली राष्ट्रले पनि साइकल संस्कृतिलाई प्रोत्साहित गरिरहेका छन्। जस अनुरूप त्यस्ता राष्ट्रका प्रमुखहरुले आफ्नो सवारीसाधनको रुपमा साइकलको प्रयोग गरेको हामीले विभिन्न समाचार माध्यममा सुन्न/देख्न्न पाइरहेका छौं।

हाल विश्वमा भइरहेको कोभिड-१९को महामारीमा साइकलको उपयोगिता अझै धेरै देखिएको छ। यसरी साइकलको नाता प्रकृतिदेखि हाम्रो स्वास्थ्यसँग पनि जोडिएको छ।

साइकलमा यात्रा गर्नु शारीरिक, मानसिक एवं पर्यावरणीय दृष्टिकोणबाट फाइदाजनक हुने र यसबाट आन्तरिक एवं बाह्य पर्यटनमा समेत टेवा पुग्ने एक स्थापित तथ्य हो। नेपालको सन्दर्भमा पनि साइकल एक बहुउपयोगी साधनको रुपमा प्रयोग हुँदै आइरहेको छ।

तराईको जनजीवनमा साइकलको प्रयोग दैनिक जीवनमा भइरहेको छ। साइकल आजभेलि मानव जीवनको एक अभिन्न अंगको रुपमा रहेको छ। साइकलको अनेकौँ पाटाहरुमध्ये आज मैले यसको पर्यटकीय महत्वको बारेमा आफूले देखेका/भोगेका अनुभव र केही अनुभवीहरुकाे विचार/टीप्पणी यहाँ प्रस्तुत गर्ने कोसिस गरेकाे छु।

काठमाडौँ उपत्यकाको सहर एवं आसपासका क्षेत्रहरु साइकल यात्राका लागि उपयुक्त रहेको र सोका लागि सरकारले ठोस कदम चाल्नुपर्ने आवाज उठ्दै आएको लामो समय भइसकेको छ। तर सरकारका तर्फबाट यसतर्फ थोरै मात्र ध्यान पुगेको छ।

काजिज् साइक्लिङ Kaji’s Cycling समूहको रुपमा ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका, विष्णुडोलका युवाहरु निरञ्जन विष्ट, सरोज विष्ट, अमीर विष्ट र स्वरुप बस्नेत विगत पाँच वर्षदेखि आफ्नो नगरपालिका एवं आसपासमा रहेका गोदावरी नगरपालिका र सूर्यविनायक नगरपालिकाका विभिन्न पहाडी भेगहरुमा साइक्लिङ् गर्दै आइरहेका छन्।

आफ्नो जागिरे जीवनका बावजुद हरेक बिहान तथा बिदाका दिनहरुमा साइकल लिएर पहाडका उकाली तथा ओराली गर्दै आएका उनीहरु आफ्नो भेगमा साइक्लिङका प्रशस्तै सम्भावना देख्छन्।

विशेषगरी, राज्य पुनःसंरचना भएको सन्दर्भमा स्थानीय सरकारको भूमिका अहम् हुनसक्ने ठम्याई समूहका सदस्यहरुको रहेको छ। सोही सम्बन्धमा उक्त समूहका सदस्यहरुसँग गरिएको अन्तर्क्रियको मुख्य अंश यस प्रकार छः

महालक्ष्मी, गोदावरी नगरपालिकाका रमणीय पहाडी भेगहरु सबै प्रकारका साइक्लिङका लागि उपयुक्त रहेका छन्: निरञ्जन विष्ट

फोटोः शंखादेवी (ज्यामिरकोट खण्डबाट देखिने काठमाडौँ उपत्यका, उचाईः १४७० मिटर)

विगत पाँच वर्षदेखि हाम्रो यो सानो समूह यस क्षेत्रमा साइक्लिङ गर्दै आइरहेका छौं। हामीले यस क्षेत्रमा साइक्लिङ गर्न सुरु गर्दा धेरै मानिसहरु मर्निंग वाकमा जान रुचाउने गर्दथे। पहिलो रुचि र त्यसपछि स्वास्थको हिसाबले पनि उपुक्त हुने भएर हामीले साइक्लिङ सुरु गरेका थियौं। यो साइक्लिङको लागि अति उपयुक्त र धेरै सम्भावना बोकेको क्षेत्र भएकाले हामीले यहाँका थुप्रै भागहरुबाट साइक्लिङकाे सुरुवात गयौँ। साइक्लिङ पर्यटनको लागि पनि यो क्षेत्र सबै प्रकारले उपयुक्त रहेको छ।

पहिलो, यस भेगको हावापानी साइक्लिङको लागि अनुकूल रहेको छ र उचाईका हिसाबले पनि ठीक छ।

दोस्रो, यस क्षेत्रलाई साइक्लिङका सबै विधाहरुका लागि प्रयोग गर्न सकिन्छ। यहाँका रहेका लाँकुरी भञ्ज्याङ्ग, कोट डाँडाजस्ता ठाउँहरुमा विभिन्न प्रकारका साइक्लिङ गर्न/गराउन सकिन्छ। सुरुवात गर्नेको लागि सजिलो ट्रेल, मध्यम स्तरको ट्रेल र कठिन किसिमका ट्रेलहरू यस क्षेत्रमा छन्।

अन्य सम्बन्धित समाचार:  भारतीय सेना प्रमुख नरभाने कात्तिक १९ मा काठमाडौँ आउने

आन्तरिक र बाह्य दुवै साइकल पर्यटनको प्रशस्त सम्भावना यस क्षेत्रमा रहेको छ। दैनिक रुपमा १० देखि १५ किलोमिटरको साइक्लिङकको लागि यहाँ धेरै ट्रेलहरु छन् जुन दैनिक शारिरीक व्यायामको लागि अति उपयोगी हुन्छ।

तेस्रो, लाँकुरीभन्ज्याङ र कोट डाँडाबाट देखिने मनोरम दृश्य झनै लोभलाग्दो हुन्छ। पर्यटकीय सम्भावना बोकेका यस्ता धेरै ठाँउहरु यस क्षेत्रमा छन् जसलाई साइक्लिङ पर्यटनको माध्यमबाट उजागर गर्न सकिन्छ।

त्यसैगरी लाँकुरीभन्ज्याङ माथि रहेको चापाखर्कबाट झनै प्राकृतिक र मनोरम दृश्य हेर्न पाइन्छ। विशंखु नारायण मन्दिर हुँदै कोट डाँडाबाट चापाखर्क जाँदा साइक्लिङ र हाइकिङ दुवैको अनुभव गर्न सकिन्छ। अर्को गोदावरीबाट फूलचोकी र त्यहाँबाट चापाखर्क हुँदै साहसिक साइक्लिङ पनि गर्न सकिन्छ।

यस्तै, १५ किलाेमिटरभन्दा माथिका ट्रेलहरु जस्तै सूर्यविनायकबाट लाँकुरीभञ्ज्याङ्ग, लुभुबाट लाँकुरीभञ्ज्याङ्ग र कोट डाँडा , कोट डाँडाबाट चापाखर्क हुँदै गोदावरी, गोदावरीबाट फुल्चोकी हुँदै चापाखर्क जस्ता ट्रेलहरु यस भेगमा छन्। त्यसैगरी, ललितपुरका सहरी क्षेत्रबाट सर्किट यात्रा समेत गर्न सकिन्छ जस्तै: पाटन दरबार स्क्वायरबाट सुरु भई गोदावरी पार्क, कोट डाँडा वा लाँकुरीभञ्ज्याङ्ग, लुभु हुँदै दरबार स्क्वायर फिर्ता हुन सकिन्छ।

साइक्लिङका लागि प्रशस्त सम्भावना बोकेको यस भेगको औपचारिक रुपमा प्रचारप्रसार भने हुन सकेको छैन: स्वरुप बस्नेत

रिङरोडको ग्वार्को खण्डबाट यो क्षेत्र करिब ६ किलोमिटरको दुरीमा रहेको छ। यसको मतलब प्राकृतिक सुन्दरताले भरिपूर्ण यस क्षेत्रमा साइक्लिङग गर्नका लागि शहरी भेगका बासिन्दाहरुले छोटो दूरीमात्रै तय गरे पुग्दछ। तर पनि औपचारिक रुपमा यो ठाउँको पर्याप्त प्रचारप्रसार भएको देखिँदैन। तथापि, बाटो सोध्दैखोज्दै केही साइकल यात्रीहरु एक्लै र समूहमा आउने गरेको देख्न सकिन्छ।

यसबाहेक हामीले आफ्ना साथीहरुलाई व्यक्तिगत सम्पर्कका आधारमा यतातिर साइक्लिङका लागि बोलाउने गरेका छौँ। यस भेगमा साइकल यात्रा गर्ने साथीहरुले यहाँको प्राकृतिक सौन्दर्य र विविधताको तारिफ गर्ने गरेका छन्।

तर, प्रचूर सभ्मावना बोकेको याे क्षेत्र प्रचारप्रसारको अभावमा धेरैको नजरमा परेको देखिँदैन। उदाहरणका लागि प्रत्येक वर्ष काठमाडौँ कोरा अत्यधिक सहभागिताका साथ आयोजना हुने गर्दछ। तर सोही प्रकृतिको कार्यक्रमहरुको आयोजना गर्नका लागि यहाँ कुनै पनि हिसाबले पहल भएको वा आवाज उठेको देखिँदैन।

यसका साथै, पछिल्लो समयमा यस क्षेत्रमा भइरहेको बाटोलगायतका पूर्वाधार विकासका कार्यक्रमहरु पनि साइकलमैत्री नहुने हो कि भन्ने संशय छ। फराकिलो बाटोहरुको निर्माण भएको भएता पनि साइकल लेनको अवधारणा लागू गरिएको पाइएको छैन।

त्यसमाथि सडकपेटी अस्तव्यस्त हुनु र भएको ठाउँमा पसल आदिले ओगटिनु र बाटोमा अव्यवस्थित रुपमा हुने गरेको पार्किंङहरु देख्दा सुरक्षित साइकल यात्रालाई प्रवर्द्धन गर्ने कुनै पहल भएको देखिँदैन।

यस भेगमा साइक्लिङको लागि प्रचारप्रसार भएमा साइक्लिङ पर्यटन फस्टाउन सक्दछ: अमीर विष्ट

नेपालको सन्दर्भमा पर्यटन क्षेत्र राष्ट्रको आर्थिक विकासको मेरुदण्ड नै हो। साइक्लिङ पनि पर्यटन विकासको एक महत्वपूर्ण तत्व रहेको कुरा अन्य मुलुकमा स्थापित भइसकेको परिप्रेक्षमा नेपालमा पनि यस्तो बहस सुरु हुन आवश्यक छ।

यस क्षेत्रको बारेमा भन्नुपर्दा साइकल यात्रीको चासो एवं चहलपहल बढाउनका लागि संगठित रुपमा नै प्रचारप्रसारका गरिनुपर्ने आवश्यकता देखिन्छ। यसका लागि औपचारिक कार्यक्रममहरुको आयोजना गर्नका लागि नगरपालिका, वडा, स्थानीय क्लब वा युवा समूहका तर्फबाट हुने योगदान महत्वपूर्ण रहन्छ। सबैको सहकार्यमा ठूला खालका साइक्लिङ प्रतियोगिताको आयोजना गर्नाले यो सम्भव हुन सक्छ।

अन्य सम्बन्धित समाचार:  बेइजिङ अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाल ‘थिम कन्ट्री’

उदारहरणका लागि Von Nepal को आयोजनामा Kathmandu Series Trail Race सन २०१९ फेब्रुअरी २ मा विष्णुडोलबाट सुरुवात भएको थियो जसमा देश विदेशका करिब २३० मानिसहरुले सहभागिता जनाएका थिए। यस क्षेत्रमा अभ्यास साइक्लिङ समेत सुरु गर्न सकिने सम्भावना प्रशस्त रहेकाे छ।

साइकल यात्राका लागि ससाना बाटाघाटाहरु पनि पर्याप्त हुने हुँदा त्यस्ता बाटोहरुको व्यवस्थापन गर्ने, सरसफाईको प्रबन्ध गर्ने, स्वस्थ खाजा आदिको व्यवस्थापन गर्नाले एकखाले तयारी पूर्ण हुन्छ। यसका लागि स्थानीय टोल, समूहको पहल पनि पर्याप्त हुन्छ।

त्यसबाहेक, सूचना प्रविधि एवं सामाजिक सञ्जालको अधिकतम प्रयोगमार्फत यस भेगको साइक्लिङ प्रोफाइल बनाई त्यसको प्रचारप्रसार समेत गर्न सकिन्छ। यस्तो सामग्री नेपाली भाषाका साथसाथै अंग्रेजी भाषामा गर्दा देशभित्र र बाहिर दुवैखाले साइकलयात्रीहरुको चासोमा वृद्धि गराउन सकिन्छ।

स्थानीय सरकारहरुको सहकार्यबाट यस क्षेत्र साइक्लिङ हटस्पट बन्न सक्दछ: सरोज विष्ट

हालको परिवर्तित सन्दर्भमा स्थानीय सरकारले आफ्नो क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न एवं स्थानीय पूर्वाधारको निर्माण गर्न सक्ने गरी नेपालको संविधानमा व्यवस्था गरिएको छ। यसका लागि स्थानीय सरकारहरुले एकआपसमा सहकार्य गर्न सक्ने समेत व्यवस्था भएको छ।

हाम्रो सन्दर्भमा महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाले सहकार्य गरी लुभु लामाटार कोट डाँडा हुँदै बिष्टछाप र त्यहाँबाट गोदावरी पुग्नेगरी एउटा सर्किटको निर्माण गर्न सक्ने देख्दछु। यस बाहेक अर्को विकल्पका रूपमा लुभुबाट लामाटार हुँदै लाँकुरी भन्ज्याङ र त्यहाँबाट पहाडको बाटो हुँदै कोट डाँडा वा थप चुनौतीपूर्ण साइक्लिङ गर्ने हो भने फुलचोकी हुँदै गोदावरी झर्ने गरी व्यवस्था गरे पक्कै पनि यस क्षेत्र साइकल यात्राको हटस्पट बन्न सक्दछ।

दुईवटै स्थानीय सरकारहरुले पहिलो कदमका रूपमा रिङरोडको सातदोबाटोबाट गोदावरी र ग्वार्कोदेखि लामाटारसम्म साइकल लेनको व्यवस्था गर्न सक्नुपर्दछ अथवा साइकलकै लागि भनी कुनै वैकल्पिक बाटोलाई तोक्न सक्दछ यसले गर्दा साइकल यात्रीहरुलाई सुरक्षितरुपमा यस क्षेत्रमा आफू साथीभाई र परिवारसमेत साइकलमा यात्रा गर्न सक्दछु भन्ने आत्मविश्वास बढाउन सकिन्छ। त्यसपछि यसबारेमा व्यापक रुपमा प्रचारप्रसार गरिनुपर्दछ जसले गर्दा काठमाडौंमा हजारौंको संख्यामा रहेका साइकल यात्रीहरुलाई यतातर्फ आकर्षित गर्न सकिन्छ।

सबै प्रकारका साइक्लिङहरु सम्भव बनाउनका लागि स्थानीय स्रोतको प्रयोगबाट रोमाञ्चकारी साइकल मार्ग cycle trail खन्न सकिन्छ जसमा ठूलो रकम र उपकरणको समेत प्रयोग गर्नु पर्दैन र वातावरणमा प्रतिकूल असर नपर्ने गरी यस्ता ट्रेलहरु बनाउन सकिन्छ। यसले गर्दा विभिन्न प्रकारका साइकल यात्रीहरुले आ-आफ्नो रुचि र क्षमता अनुसार साइक्लिको अनुभूति गर्न सक्दछन्।

यसैगरी यस क्षेत्र दूधजन्य उत्पादन र अन्य प्रकारका कृषि उपजका लागि पनि प्रख्यात रहेको हुँदा साइक्लिङका लागि आउने पर्यटकहरुलाई विभिन्न प्रकारका स्थानीय परिकारहरु बिक्री वितरण गरी/गराई आयआर्जन गर्न सक्ने समेत सम्भावना देखेको छु।

तस्बिरहरु: निरञ्जन विष्ट/अमीर विष्ट/सराेज विष्ट/स्वरुप बस्नेत

Maruti Cement