मास्क महात्म्य

  • सरगम भट्टराई
Prabhu Bank

धेरै दिनदेखि लेख्न मन लागिरहेको थियो यो मास्कको महात्म्य लेखौँ कि मास्कको समाजशास्त्र लेखौँ अथवा मास्कको आत्मकथा लेखौँ कि मास्कको पीडा लेखौँ बड़ो दुबिधामा थिएँ म। अन्त्यमा मास्ककै सेरोफेरोमा रहेर मास्क महात्म्य लेख्ने कोशिश गर्दैछु।

Saftey Pads

देशको राजनीतिबारे लेख्यो कि कसैको चित्त बुझ्ने, कसैको चाहिँ कटक्क दुख्ने। कसैको मन दुखाउनुको साटो सबैलाई हँसाउनु पो राम्रो। मास्कको बारेमा लेख्दा चित्त दुखेपनि त्यही कोरोनाकै दुख्ने भयो, जस्को चित्त दुखाउन मात्र हैन तेजोबध नै गर्न पाए झन् संसारकै भलो हुने।

खासमा मास्क देख्यो कि मलाई बीस बर्ष अगाडिको मेरै घरको सेते र काले गोरुको मुखमा लगाएको महलो सम्झना आईहाल्छ। खेत जोत्दाखेती खालान् भनेर त्यो बेला बाँसको या रसीले बुनेको जाली बाँधिन्थ्यो। त्यो बेला महलो लगाउँदा गोरुले निकालेको र्याल देख्दा मन साह्रैदुख्थ्यो।

तर अचेल अवस्था बदलिएको छ। राँगा गोरु हैन अर्बपति, खर्वपति होस् या भिखारी, भुस्तिघ्रे होस् या म जस्तै लुखुरे मान्छे सबैको मुखमा मास्क झुण्ड्याउनु परेको छ। कतै डरले कतै करले। मै हूँ भन्ने मान्छे यति साह्रै निरीह भएको देख्दा एक्लै हाँस्छु, सपना हो कि भनेर आफैलाई चिमोट्छु तर यो भाईरसको शिकार आफै भएकोले यसलाई बेसार खाईदेऊ आच्छ्यु गर्देऊ र उडाईदेऊ म भन्दिन।

त्यसो त अनुहारमा क्रिम र ओँठमा लाली लगाउने महिला दिदी बहिनीहरुको पनि मुख यही मास्कले ढाकेर सुन्दर ओँठ र गुलाबी गाला देख्न नपाएको महिनौँ भईसकेको छ। अनुहारमा मुज्जा र कपालमा तिल चामल देखिए पनि मन बूढो त भएको छैन नि! तर यो पीड़ा म भन्दा पनि किशोर किशोरीहरुलाई निकै बढ़ी होला।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्रीले लगाए राष्ट्रपतिका हातबाट टीका

मास्ककै सेरोफेरोमा लेख्न लागेकोले मैले मास्क र मास्क धारण गर्ने ठूला ठालुदेखि सर्वसाधारणको बारेमा लेख्न पाउनुपर्छ भन्ने मेरो माँग छ।

मास्क धारण गर्दै जाँदा मैले एउटा महत्वपूर्ण कुरा पत्ता लगाएको छु: ‘लाज भन्ने चिज आँखामा होईन, ओठमा हुने रहेछ।’

मान्छेको हाउभाउ हेर्न मुख चलाएको नदेखेपछि उसको बारेमा अड्कल गर्न पनि बड़ो कठीन हुने रहेछ। रिसाएको हो कि हाँसेको, गिज्याएको होकि रिझाएको हो, मुख नै देख्न नपाएपछि सबै अड्कल मात्र गर्नुपर्ने। सडक छेउ बसेर केटी जिस्क्याउनेदेखि सिंहदरवारमा बसेर जनता झुक्याउनेदुबैलाई मास्कले केही बेफाईदा र केही फाईदा अवस्य दिएको छ।

हरेक कुराका फाईदा बेफाईदा हुने रहेछन्, कोरोनाले महिनौ बेरोज़गार भए पनि अचेल श्रीमतीजीको लाली पाउडरको खपत ह्वात्तै ओरालो लागेकोछ। म आफैले दाह्री काट्ने समयान्तर बढाएको छु। मास्क र चश्मा लगाएपछि दिन दशमा दाह्री काटेपनि नो प्रोब्लम हुने रहेछ।

अर्को पनि फाईदा छ यो मास्कको: मन नपरेको मान्छे आफ्नो अघि देखेपछि मास्क अलि तन्क्यायो, कालो चश्माले आँखा ढाक्यो, टाउकोमा छातेटोपी लगायो, नदेखेजस्तो गर्यो, मुन्टो मोड्यो, टन्टै साफ। त्यसो त कोरोनाकै कारणले को आयो भनेर कसैले ध्यान दिएकै देखिन्न अचेल।नेताहरुलाई त मास्कले झन् धेरै फाईदो नै भएको होला। सरकारी मास्क किन्दा उतै कमिशन, अनि जति कुम्ल्याए पनि जनतालाई मुख देखाउनैनपर्ने।

अन्य सम्बन्धित समाचार:  सोमबार बडादसैँ, टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा

पहिले बिदेशबाट आउनेलाई यताउता भेट गर्न र कोशेली बाँड्न भ्याई नभ्याई हुन्थ्यो, अचेल बिदेशबाट आए पनि श्रीमतीसंग समेत १४ दिनसम्म भेट्न पाईदैन, भेट्न त के अनुहार समेत देख्न पाईदैन।

अचेल जता हेर्यो मास्क नै मास्क देख्दा जिन्दगी यसरी नै बित्ने हो कि भन्ने डर पनि लागिरहन्छ। यता उता हेरेर यसो एक मिनेट भए पनि मास्क फालेर ताज़ा अक्सिजन लिन पाए अलि बाँचिन्थ्यो कि भन्ने लागिरहन्छ।

जे होस् अब मास्कमा पनि ब्राण्ड र डिजाईन बढिरहेका छन्। सौन्दर्य सामग्रीहरुको बिक्री ह्वात्तै घटेको बेलामा सौन्दर्य अवरोधक यो मास्ककोबजार भने दिन दुगुना रात चौगुना बढिरहेको छ।

अन्त्यमा,

मजस्ता सिधा सादा मान्छेका लागि यो मास्क बिलकुलै उपयोगी छैन, एउटा मात्र पनि शत्रु नभएको मान्छे, कसैको केही नखाएको मान्छे, राजनीतिक पदमा नरहेको मान्छे, सरकारी जागिरमा नभएको मान्छे, एक पैसा भ्रष्टाचार नगरेको मान्छे, चालीस कटेको मान्छेलाई पनि यो मास्क लगाउनुपर्ने कारण यो कोरोना बाहेक अरु केही थिएन।

हे भगुमान्! पिलिज यो मास्कवादबाट मुक्ति देऊ, एक मुठी ताज़ा शास फेर्न देऊ।

Maruti Cement