एघार दिनपछि खुल्यो बेनी बजार

Prabhu Bank

म्याग्दी। कोरोना भाइरसको संक्रमणका कारण ११ दिनदेखि बन्द म्याग्दी सदरमुकाम बेनी बजार ११ दिनपछि खुलेको छ।

Saftey Pads

लक्षणसहितका कोरोना संक्रमित भेटिएपछि नगरपालिकाको सिफारिसमा कात्तिक १४ गतेदेखि एक हप्ताका लागि गरिएको बन्दलाई कात्तिक २८ गतेसम्म लम्ब्याइएको थियो।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बेनी नगरपालिकाले जोखिममा रहेको बेनी बजारमा घरदैलो गरेर कोरोनाको जोखिम पहिचानका विषयमा तयार पारेको प्रतिवेदनसहितको सिफारिसका आधारमा बन्द खुलाइएको जानकारी दिए।

कोरोना फैलिन नदिन नगरपालिका कार्यालय, वडा कार्यालय, बैंक, वित्तीय संस्था र सहकारी संस्थाको सेवाका साथै बजारका पसलहरु बन्द गरिएको थियो।

पाँच सय ८१ घरका तीन हजार ९९० जनासँग भेटघाट गर्दा पहिचान भएका १३ जनाको कोरोना संक्रमणसँग मिल्ने लक्षण भएकाको नमूना संकलन गरी पिसीआर परीक्षणका लागि पठाइएको र होम आइसोलेसनमा राखिएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक लीला गौतमले बताइन्।

अन्य सम्बन्धित समाचार:  भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गरिने: मन्त्री अर्याल

घरदैलो गरेको टोलीको प्रतिवेदनको आधारमा नगरपालिकाले बजारमा कोरोना नियन्त्रणमै रहेको ठहरसहित जनजीवनलाई सहज र आर्थिक गतिविधिलाई चलायमान गर्न स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर बन्द खोल्न सिफारिस गरेको थियो।

प्रशासनले भिड व्यवस्थापन, दूरी कायम, स्यानिटाइजर र मास्कको प्रयोग तथा हात धुने व्यवस्थासहित बजार तथा सेवा खुलाएको हो। तिहारको अवसरमा देउसीभैलो खेल्न, मेला महोत्सव र भेला गर्न भने रोक लगाइएको छ। प्रशासनले परिवारका सदस्य मात्रै भएर पर्व मनाउन नागरिकलाई आग्रह गरेको छ।

मंगला गाउँपालिकाले मंसिर १ गते र मालिका गाउँपालिकाले २६ गतेसम्मलाई गरेको सेवा तथा बजार बन्दलाई यथावत राखेका छन्।

बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले कात्तिक १९ देखि गरेको बजार तथा सेवा बन्दलाई कोरोना संक्रमित पहिचान हुने दर बढेकाले कात्तिक २८ गतेसम्म लम्ब्याएको जनाएको छ।

अन्य सम्बन्धित समाचार:  डिएगो म्याराडोनाको अन्त्येष्टि
Maruti Cement