विश्व राजनीतिमा अबको बहस: ट्रम्पको टिप्पर चढ्ने कि बाइडेनको बस?

Prabhu Bank

लोकतन्त्रको विशेषता भनेकै जनमतको कदर हो- जनताले नेता छान्ने, नेताले जनहितमा काम गर्ने। अपेक्षित काम नगरे वा सुशासन र समृद्धितर्फ देशलाई लैजान नसके वा भ्रष्टाचार, नातावाद, कृपावाद र दलाल पुँजीवादीलाई आश्रय दिइरहे अर्को आवधिक निर्वाचनमा जनताले सक्षम वैकल्पिक नेता चुन्ने। यो लोकतन्त्रको सुन्दर रूप अमेरिकाको यो निर्वाचनले देखायो। जनताले एक्लै हिँड्ने ट्रम्पको टिप्पर छोडी सबै मिली जाऊँ भन्ने बाइडेनको बस रोजे! के नेपाली जनताले पनि आउँदो निर्वाचनमा हाम्रो नभनी राम्रो नेतृत्व चयन गर्लान्?

Saftey Pads

अहिले विश्वका धेरै देशहरूमा दक्षिणपन्थी र निषेधात्मक सोच राख्ने उग्र राष्ट्रवादी नेताहरू सत्तासीन रहेको अवस्थामा वृहत् अन्तर्देशीय सहकार्य सङ्कटमा छ। तर यो २१ औँ शताब्दीमा विश्वमा द्वितीय विश्वयुद्ध ताकाको जस्तो उग्र राष्ट्रवादी लहर कहाँबाट आयो? अमेरिकी राष्ट्रपति ट्रम्पको उल्लेखबिना यो प्रसङ्ग अपूर्ण हुन्छ।

२०१६को चुनावमा ‘अमेरिकालाई फेरि महान् बनाऔँ’ भन्ने राष्ट्रवादी जस्तो सुन्निने नाराका साथ आप्रवासी-विरोधी बिम्बात्मक मेक्सिको सिमानामा पर्खाल बनाउने जस्ता चुनावी मुद्दा बनाएका ट्रम्पलाई थाहा थियो कि चर्को राष्ट्रवाद चुनाव जित्ने प्रभावकारी अस्त्र हो। यस्तै भारतमा मोदीले चुनाव पूर्व पाकिस्तानको जङ्गलमा बम बारी गरी दक्षिणपन्थी रूढिवादी भारतीय जनता पार्टीलाई जिताए।

दुवै नेताले मजदुर र वञ्चित वर्गलाई उनीहरूको पुरानो वामपन्थी समाजवादी आस्थाबाट बाहिर निकाल्न त सफल भए तर आफू सत्तामा पुगेपछि यिनै विपन्न, अल्प सङ्ख्यकलाई सीमान्तकृत गरे। यस्तै नेपालमा पनि कहिले जनताको जनवादी नारा लगाई, कहिले भारत विरोधी राष्ट्रवादी छवि बनाई ओली सत्तासीन भए तर अहिले सरकार जनताको चित्कार, रोदन पनि नसुन्निने गरी सम्म धेरै टाढा भएको छ।

यी दक्षिणरवामपन्थी नेताहरूमा केही समानता छन्:

१. असफल विदेश नीति, छिमेकीसँग कलह:

ट्रम्पले नेटो जस्ता सहयोगीलाई असहयोग गर्नुका साथै, छिमेकी राष्ट्र र विपन्न राष्ट्रका नगरकीलाई अवहेलना गर्दै अमेरिका प्रवेशमा नै अवरोध पैदा गरे। मोदी कालमा पाकिस्तान र चीनसँग सम्बन्ध झनै बिग्रियो।

ओलीले पनि कुट नैतिक संवाद बाट समाधान भन्दा पनि आलोचना मात्रै गरी पहिले भारत सँगको सम्बन्ध गिजोले।पछि आफूलाई हटाउने षड्यन्त्र रचेको आरोप लगाउँदै गर्दा विदेशी गुप्तचर प्रमुखलाई भने रातारात कूटनैतिक मर्यादा समेत ख्याल नगरी सोझै बालुवाटार प्रवेश दिए।

अन्य सम्बन्धित समाचार:  २४ घण्टामा १ हजार ६१४ संक्रमित थपिए: २३ जनाको मृत्यु

२. विज्ञान नमान्ने रूढिवादी प्रवृत्ति:

वैज्ञानिक विधिमा कुनै शोधको निष्कर्ष साझा गर्न कुनै प्राकृतिक घटनाको अवलोकनपश्चात् नै त्यो घटनाको पछाडि रहेको कारण पत्ता लगाउन केही प्रस्तावित प्रश्नहरूको परिकल्पना गरिन्छ। त्यसपछि त्यो परिकल्पनाको परीक्षण गर्न तथ्याङ्कको विश्लेषण गरेर अन्तिम निष्कर्ष निकालिन्छ। ट्रम्प विज्ञानलाई नमान्ने रूढिवादी हुन् जो वातावरणीय परिवर्तनलाई विश्वास गरेनन् र पेरिस जलवायु सम्झौता बाट अमेरिकाको आबद्धता हटाउने घोषणा गरे। ट्रम्पले कोभिड–१९ लाई पत्याउँदै पत्याएनन्।

उनले कोरोना ठुलो महामारी हो, यसबाट जोगिन मास्क लगाउनु र सामाजिक दूरी कायम गर्नु भनेर जनतालाई आह्वान गरेनन्। निराधार नै हाइड्रोक्सी क्लोरोक़ुइन लाई औषधि हो भनी दावी गरी रहे।

नेपालमा पनि वैज्ञानिक विधिको समेत खिल्ली उडाएर राष्ट्र प्रमुखले नै कहिले कोरोना भाइरस लाई निर्जीव भन्छन् त कहिले ठोस आधार बिना बेसार पानीले ठिक गर्छ भन्छन्१

३. प्रजातन्त्रको लागि खतरा:

ट्रम्पले सरकार प्रमुखको रूपमा ज्यादा अधिकारको प्रयोग गर्न खोजे र अमेरिकाको कार्यपालिका व्यवस्थापिका र न्यायपालिका बीचको सन्तुलनमा खलल ल्याउने प्रयास गरे। मोदीले संविधान विपरीत कश्मीरको र अन्य अल्पसङ्ख्यकको स्वतन्त्रता खोसे। सबै अदालती फैसला उनकै पक्षमा लिन उक्साए।

यस्तै नेपालमा पनि रातारात विधेयक ल्याउने, अक्तियारको छानबिनमै अवरोध पुर्‍याई भ्रष्टाचारीको बचाव र आसे पासेको पोषण जस्ता कामका साथ साथै प्रदेशलाई कमजोर नै राखी आफ्नै हातमा असीमित शक्ति सञ्चित गर्न ओली सधैँ प्रयासरत देखिन्छन्। यी सबै लोकतन्त्र विरोधी तानासाही प्रवृत्ति हुन्।

नेपालमा जहानियाँ शासनहरूको अन्त्य त भयो तर न सुशासन, समृद्धितर्फ देश बढ्यो न त जनहितमा काम भयो। विगत ३० वर्षमा विभिन्न वाद, पार्टी र नारा लिएर विभिन्न मुकुन्डो लगाई उनै अनुहार राजनीति र देश दोहनमा सक्रिय छन्। एक चोटि सत्तामा पुगेका परिवारका सदस्य प्रायः अरबपति छन् आज। तिनकै सन्ततिको सेना, प्रहरी र व्यापार देखि दलाली सम्म हालीमुहाली छ।

हिजो प्रजातान्त्रिक पद्धतिबाट समृद्धि आउँदैन भनी युवालाई बन्दुक भिराउने आज गाडीमा अनि बाँचेका बन्दुक भिर्ने खाडीमा भासिएका छन्।

अन्य सम्बन्धित समाचार:  बिहीबार नेपाल आउँदै भारतीय विदेश सचिव

जत्ति धारिलो हिजो तरबार, उत्ति ठूलो आज घरबार

अब त सत्ता नि उनकै, कसले गर्ने प्रतिकार?

अख्तियार देखि बालुवाटार हुँदै सिंहदरबार

घरदैलोमा गा’छ भन्छन् आजकल भ्रष्टाचार

शिक्षा, स्वास्थ्य, पूर्वाधार बन्यो माफिया बजार।

बारम्बार यिनै पात्र कसरी सत्तामा पुग्छन्? किनकि हामीले प्रश्न गरेनौँ। घरदैलोमा आउने हरेक नेतालाई सोधौँ कि कुनै वैध आम्दानीको स्रोत नभएर केही वर्षमै काठमाडौँमा महल कसरी बने? वादका भर्‍याङ चढेर सत्तासीन भएका र आफैँलाई समाजवाद उन्मुख कम्युनिस्ट भन्नेहरूको मजबुत सरकार पनि दलाल पुँजीवाद, सिन्डिकेट, बिचौलिया र गुन्डा हत्याराहरूको संरक्षक किन बनेको छ? नेताहरूलाई आफू र आफ्नो उपचार गर्न हेलिकप्टरमा काठमाडौँ जाँदा जनता सिटामोल नपाई मर्ने अवस्थामा भएको स्मरण हुन्छ कि हुँदैन?

विकृत राजनीतिविरुद्धको असन्तुष्टि सामाजिक सञ्जालमा सेयर गरेर वा कुनै नेतालाई जुत्ताझापड हानेर मात्रै अवस्था र व्यवस्था बदलिने वाला छैन। आउनुहोस्, लोकतन्त्रलाई संस्थागत गर्दै यो आक्रोश मतपत्रमा उतारौँ।

किन सराप्छौ अब कल्लाई गर्छौ धिक्कार?

हिजोका तिम्रै भोटले आज बन्यो सरकार

यी सबबाट आजित भएको जनमत उक्साई फेरि राजतन्त्र फर्काऔँ भन्ने तत्त्व पनि सक्रिय भएको छ आज। स्मरण रहोस् लोकतन्त्रको विकल्प राजतन्त्र हैन लोकतन्त्रको विकल्प अझैँ मजबुत लोकतन्त्र हो! आउनुहोस् हामी सबै नेपाली एकजुट बनौँ। आफ्नो सत्ता हासिल गर्न या आफ्नो नाता कृपावादी दलाल पुँजीवादी शासन चलाई राख्न खोक्रो राष्ट्रवादी भेडाको छाला भित्र लुकेका उग्र वामपन्थी र उग्र दक्षिणपन्थी ब्वाँसाहरूको समयमै पहिचान गरौँ।

अब लोकतन्त्र संस्थागत गरी देशलाई प्रजातान्त्रिक समाजवादको परिष्कृत रूप कल्याणकारी लोकतन्त्रतर्फ उन्मुख गराउन अर्को वैचारिक क्रान्ति हुन जरुरी छ। अब हाम्रा छोडी राम्राको चयन नगरी परिवर्तन हाम्रै जीवनकालमा सम्भव छैन।

अलोकप्रिय राणा र राजा उखेलेर फालेर लोकतन्त्र ल्याएका जनताले अब यो भ्रष्टाचार, विरासत, र विसङ्गतिको राजनीतिलाई उखेलेर फाल्ने क्रान्ति बुलेट होइन, ब्यालेटमा हुन जरुरी छ। जसरी २०२० को निर्वाचनमा अमेरिकामा भयो!

लोकतन्त्र फलोस् -फुलोस्, नेपालको जय होस्!

Maruti Cement