कोरोना संक्रमणका कारण बन्द भएका नरैनापुरका विद्यालय तिहारपछि खुल्ने

Prabhu Bank

आकाश देवकोटा, बाँके। कोरोना संक्रमणका कारण बन्द भएका नरैनापुरका विद्यालय तिहारपछि खुल्ने भएका छन्। गाउँपालिकाको गाउँ शिक्षा समिति संयोजक एवम् गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई मंसिर १४ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।

Saftey Pads

शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुका अनुसार विद्यालय सञ्चालन गर्न कार्यविधि तयार गरी एक हप्ताभित्रमा कार्यपालिकामा पेश गर्ने निर्णय भएको छ। सोही कार्यविधिका आधारमा विद्यालय सञ्चालन गरिने थारुले बताए।

“विद्यालयमा प्रत्यक्ष सिकाई सहजीकरण गर्दा अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको व्यवस्था स्वास्थ्य शाखाले गर्ने, मापदण्ड पूरा भए नभएको निक्र्यौल अनुगमन समितिले गर्ने तथा विद्यालय सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई तथा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिने निर्णय गरेका छौं,“ थारुले भने।

गाउँपालिका अध्यक्ष शाहले अनलाइन कक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको भन्दै लामो समयदेखि कोरोना नदेखिएकाले अब निश्चित मापदण्ड बनाएर विद्यालय सुचारु गर्ने निर्णयमा पुगेको बताए। ‘जेठको पहिलो सातादेखि कोरोनाले आक्रान्त बनेको नरैनापुर करिब एक महिना निकै संकटबाट गुज्रियो, त्यस यता भने नरैनापुरमा एकाध बाहेक कोरोना देखिएको छैन, लामो समय विद्यालय बन्द हुँदा सिकाई कार्य पूर्णरुपमा प्रभावित भएकाले अबदेखि विद्यालय चलाउने निर्णय गरेका हौं’, अध्यक्ष शाहले भने।

अन्य सम्बन्धित समाचार:  त्रिशूलीमा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला

विद्यालय सञ्चालन तथा विद्यार्थी सहजीकरण कार्यविधि तयार गर्न प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही संयोजक रहेको सात सदस्यीय समिति बनाइएको छ। शाहीले कसरी विद्यालय सञ्चालन गर्दा कोभिडको जोखिम कम हुन सक्छ, त्यसै अनुरुप अगाडि बढ्ने बताए। उनले एकैसाथ सबै विद्यालय सञ्चालन नगरी तहगत रुपमा सुचारु गर्दै त्यसको प्रभाव हेरेर थप रणनीति अख्तियार गरिने बताए।

विद्यालयहरुको आर्थिक वर्ष २०७६/०७७ को लेखा परीक्षण गर्नका लागि सूचीकृत भएका लेखा परीक्षकहरुलाई समान विद्यालय संख्या पर्ने गरी नियुक्त गर्ने, मंसिर महिनामा लेखा परिक्षण सम्पन्न गरी लेखा परिक्षणको प्रतिवेदनको प्रतिलिपि शाखामा उपलब्ध गराउन लगाउने निर्णय पनि गरिएको छ।

त्यस्तै विद्यालयमा भौतिक पूर्वाधार निर्माणका कार्यक्रमहरुलाई शीघ्र सञ्चालन गर्ने, रिक्त रहेका स्वीकृत दरबन्दी तथा राहत दरबन्दी पदपूर्ति गर्ने, पालिकाभित्र रहेका दरबन्दी विद्यालयगत तथा तहगतरुपमा हेरफेर गर्न नपर्ने देखिएकोले विद्यालय तथा दरबन्दी यथावत राख्ने, साक्षरता तथा अभिभावक शिक्षा सम्बन्धी कार्यक्रम अगाडि बढाउने, स्वयम्सेवक शिक्षक तथा सफाइकर्मी व्यवस्थापन सम्बन्धी कार्यविधि बनाउने, जय किसान मावि भोजपुरलाई कक्षा ११ को परिक्षा सञ्चालनका लागि अनुमति दिने, निःशुल्क पाठ्यपुस्तकको अपुग रकम माग गर्ने, नयाँ अनुमति तथा कक्षा थपको लागि परेका आवेदन अध्ययन गरी शिक्षा समितिको आगामी बैठकमा पेश गर्ने र ट्युशन तथा कोचिङ सेन्टर सञ्चालनका लागि अनुमति दिने निर्णय बैठकले गरेको शिक्षा शाखा प्रमुख थारुले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  ८५ वर्षीय बिर्खबहादुरले आफ्नै लगानीमा विश्रामस्थल निर्माण गरे
Maruti Cement