सौका समुदायका लागि भारतले दुई दिन सीमा नाका खोल्ने

Prabhu Bank

 दार्चुला। सौका समुदायका लागि भारतले दुई दिन सीमा नाका खोल्ने भएको छ।

Saftey Pads

ब्यासको छाङरु र तिंकरमा बस्दै आएका सौका समुदायका लागि बसाइँ सर्न (कुञ्चा)का लागि भारत नाका खोल्न सहमत भएको हो।

गर्मी यामका ६ महिना कालापानी र लिपुलेक मुनिको गाउँमा बसोबास गर्दै आएको सौका समुदाय हिउँदमा जाडो छल्न दार्चुला सदरमुकाम खलंगा बसाइँ सर्दै आएको छ।

गाईवस्तुसहित आवतजावत गर्न नेपालतर्फको बाटो भरपर्दो नभएका कारण उनीहरु भारतको बाटो प्रयोग गर्नुपर्ने बाद्यता छ। सितापुल नाका र खलंगा नाका सौका समुदायका लागि मंसिर ८ तथा मंसिर २४ गते खुल्ने भएको छ।

स्थानीय प्रशासनले भारतीय प्रशासनलाई नाका खोल्न अनुरोध गरेपछि भारत सहमत भएको स्थानीय दानसिंह तिंकरीले जानकारी दिए। भारतको बाटो भएर खलंगा पुग्न सौका समुदायलाई गाईवस्तु र सामानसहित पाँच दिन लाग्ने गर्दछ। उनीहरु भारतको गब्र्याङ, लामारी, बुदी हुँदै धारचुला पुग्ने गर्छन्।

अन्य सम्बन्धित समाचार:  पेन्सन लिन भारतसित जोडिएका दार्चुलाका तीन नाका खोल्ने सहमती

तिंकरका ६० परिवारका लागि मंसिर ८ गते तथा छाङरुका १०५ परिवारका लागि मंसिर १९ गते सितापुल नाका खोलेर भारत प्रवेश गराइ मंसिर २४ गते खलंगामा प्रवेश गर्न दिइने छ।

नेपालको बाटो बनाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले करोडौँ रुपैयाँ खर्च गर्दै आएका छन्। तर ब्यास उक्लिन र खलंगा झर्न भने सौका समुदायले बर्सेनी भारतीय बाटो प्रयोगका लागि हार गुहार गर्नुपरिरहेको छ।

Maruti Cement