तीन वर्षीया बालिकाको विभत्स हत्या गरिएकाे अवस्थामा शव फेला

मकवानपुर। मकवानपुरको बागमतीमा तीन वर्षीया बालिकाको विभत्स हत्या गरिएकाे अवस्थामा शव भेटिएकाे छ। प्रहरीले उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने अनुमान गरेकाे छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बागमती गाउँपालिका–७ की बालिकाकाे हत्या भएको जनाएका छन्।

घटनास्थल नजिक उनको कट्टु फेला परेको र शरीरभरि रगत लत्पतिएका कारण बलात्कारपछि ढुङ्गाले हानेर विभत्स हत्या गरेको हुनसक्नेतर्फ अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते अवस्थामा बुधबार साँझ फेला परेकी बालिकालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा दुई पुरुषलाई पक्राउ गरेको जनाएको छ।

बालिका बुधबार दिउँसो ३ बजेदेखि हराइरहेकी थिइन्। बालिकाको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ।