काठमाडौं। पाेखराका फरक फरक अस्पतालमा उपचार गराईरहेका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरास्थित गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक/एकजना कोरोना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताएका छन्।
बिहीबार बिहान ३ः४५ बजे गण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका–१७ की ७५ वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु भएको डा. शर्माले बताए। उनमा २४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनी निमोनिया, मधुमेह तथा हाइपरटेन्सनसम्बन्धी रोगबाट पनि ग्रसित थिइन्।
यसैगरि बिहीबार बिहान ७ः३० बजे फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा पोखरा महानगरपालिका–९ की ८३ वर्षीया वृद्धाको मृत्यु भएको हो। उनकाे २५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो। श्वासप्रश्वासकासाथै निमोनिया र हाइपरटेन्सनसम्बन्धी रोगबाट पनि उनी ग्रसित थिइन्।
उपचारको क्रममा बुधबार राति ६ः४५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बागलुङको बेशीसहर नगरपालिका–५ का ७१ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको डा. शर्माले बताए । निमोनिया र एक्युट हेपाटाइटिस लगायतका समस्याबाट ग्रसित उनीमा २८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो।