काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा ७४ पदका लागि निर्वाचन हुने भएको छ। मंसिर १३ गते हुने निर्वाचनमा १२७ जना चुनावी मैदानमा छन्।
उम्मेदवारको पहिलो नामावली बिहीबार साँझ प्रकाशन गरिएको छ। निर्वाचन समितिका अनुसार दुई जना निर्विरोध भएका छन्। प्रत्येक प्रदेशबाट एक–एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
प्रदेश १ बाट मोरङ व्यापार संघका राजेन्द्र राउत निर्विरोध भएका छन्। निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार चन्द्र ढकाल र किशोर प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारको अन्तिम नामावली शुक्रबार साँझ प्रकाशन गरिनेछ। निर्वाचन समितिले मतदान गर्न पाउने सदस्यहरूको नामावली प्रकाशन गरिसकेको छ।
जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ १०७, वस्तुगत समूहतर्फ १०१ तथा द्विराष्ट्रिय उद्योग वाणिज्य संघ समूहतर्फ १२ मतदाता रहेका छन्। एसोसिएट समूहतर्फ ९२३ मतदाता छन्।
उम्मेदवारको अन्तिम नामावली मंसिर ८ गते प्रकाशन गरिनेछ।