काठमाडौँ उपत्यकाका विद्यालय तत्काल नखुल्ने

काठमाडौँ। कोरोना संक्रमण बढ्दै गएका कारण काठमाडौं उपत्यकाका विद्यालयहरू तत्काल नखुल्ने भएका छन्। कोरोना संक्रमण कम नभएकाले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने स्थानीय तहहरूले जनाएका छन्।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकामा अझै संक्रमणको जोखिम रहेकाले उपत्यका नगरपालिका फोरमले बृहत् छलफल गरी निर्णय लिने बताए।

फोरम उपत्यकाका १८ नगरपालिका तथा महानगरपालिकाको छाता संस्था हो। शिक्षा र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर विद्यालय सञ्चालनबारे निर्णय लिइने उनले बताए।

सरकारले स्थानीय तहलाई विद्यालय सञ्चालनको जिम्मा दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परिमार्जनसहित ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ ल्याएर स्थानीय तहलाई विद्यालय खोल्ने जिम्मा दिएको हो ।

विद्यालय पुनः सञ्चालन गर्दा स्थानीय तहभित्र संक्रमणको जोखिम नभएको वा सबैभन्दा न्यून रहेको क्षेत्रमा अवस्थित विद्यालयबाट सुरु गर्ने गरी व्यवस्था गर्न सकिने कार्यढाँचामा उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

स्थानीय तहको निर्देशनबमोजिम विद्यालयले सञ्चालनको समय, मितिसहित स्थानीय भाषामा समेत सूचना प्रकाशन तथा प्रसारण गर्नुपर्नेछ। क्वारेन्टाइन र आइसोलेसन सेन्टरका रूपमा प्रयोग भएका विद्यालयलाई हटाएर निर्मलीकरण गर्नुपर्नेछ।

हरेक विद्यालयले आवश्यकताअनुसार स्वास्थ्यकर्मीसहित हेल्थ डेक्स निर्माण गरी विद्यालयका विद्यार्थी तथा शिक्षकको नियमित स्वास्थ्य परीक्षण तथा परामर्श लिनुपर्नेछ।