छठ पर्व मनाउन जनकपुरधामका पोखरीहरु भरिभराउ

धनुषा। जनकपुरधाम सहित धनुषा महोत्तरी लगायतका क्षेत्रमा आज पोखरीमा अस्ताउदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाइँदैछ। केही दिन पहिला जिल्ला प्रशासन कार्यालयमा भएको बैठकबाट पोखरी, तलाउ तथा नदीमा छठ पर्व मनाउँदा हुने भिडका कारण कोरोनाको खतरा बढ्ने सम्भावनाका कारण यो वर्ष घरमै छठ पर्व मनाउन निर्देशन सहित आग्रह गरिए पनि त्यसको पालना भएको छैन।

गएराति देखि नै जनकपुरधामको गंगासागर, धनुष सागर लगायतका पोखरीहरुमा छठ पर्वका परिकारहरु राखेर पोखरी भरिभराउ भएको देखिएको छ। गंगासागरको उत्तर तर्फ एक स्टल राखेर मास्क सेनिटाईजर दिने गरिएपनि आज मानिसहरुको भीरका कारण कोरोनाको खतरा बढ्ने देखिन्छ। अस्ताउँदो सूर्यलाई अर्घ दिन जनकपुरको पोखरी तलाउमा बनाइएको घाटमा बिहानैदेखि छठको पूजा सामग्री लिएर भक्तजनहरु जान थालेका छन्। यस्तै ग्रामीण भेगहरुमा आज दिउँसो र साँझ मात्रै पूजा सामग्री लिएर भक्तजनहरु घाटमा पुग्ने छन्।

अन्य सम्बन्धित समाचार:  भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन बुधबार नुहाएर अरबा अरबाईन भोजन गरेका व्रतालुहरुले बिहीबार दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खीर ग्रहण गरी खरना मनाएका छन्। तेश्रो दिन अर्थात मुख्य दिन आज शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठपर्वको विधिवत समापन हुन्छ।