जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका थुनुवा मृत फेला

 

क्षेत्रनाथ देवकाेटा,  बाँके।  जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको शौचालयमा बिहीबार राती बालक हत्या तथा अपहरण काण्डका एकजना अभियुक्त व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ वनकट्टीमा भएको बालक अपहरण तथा हत्या काण्ड मध्येका एक अभियुक्त बाबुलाल रैदाशले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको शौचालयमा झुन्डिएर मृत्यु भएको अवस्थामा शुक्रवार बिहान भेट्टिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक रानाले बालक अपहरण तथा हत्या काण्डका अभियुक्त रैदाश प्रहरीको हिरासत कक्षको शौचालयको झ्यालको डन्डीमा टाउकोमा बाँधेको कपडाको पासो लगाई झुन्डिएर मृत अवस्थामा फेला परेको बताए । उपरीक्षक रानाका अनुसार रैदास माथि अभद्र तथा कर्तव्य ज्यान मुद्दामा समेत अदालतबाट म्याद थपेर अनुसन्धान भैरहेको बताए ।

शुक्रबार बिहानै हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा रैदाश फेला परेपछि हिरासत कक्षमा सँगै रहेका अन्य व्यक्तिहरूबाट जानकारी पाएपछि रैदाशका आफन्त, वडाका जनप्रतिनिधि, वकिल, चिकित्सक, मानवअधिकारवादी, स्थानीय प्रशासन र आफ्नो माथिल्लो निकायलाई खवर गरेर प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी पोस्टमार्टमको लागि रैदाशको शवलाई भेरी अस्पतालमा लैजाने तयारी गरेको छ।

अभियुक्त रैदाशले टाउकोमा बाँधेको कपडाको पासो बनाई अरु सँगै रहेका थुनुवा सुतेको मौका पारी घाँटीमा पासो लगाएर हिरासत भित्रको शौचालयको झ्यालको डन्डीमा झुन्डिएर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

तत्कालीन भूमिगत समुह तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वाला सिंह समुहमा आवद्ध रहेर रैदाशले विभिन्न आपराधिक क्रियाकलाप गर्दै आएका थिए। उनी यसअघि पनि हातहतियार तथा खरखजना मुद्दामा ८ वर्ष जेल सजाय पाएका व्यक्ति भएको प्रहरीले बताएको छ। 

अन्य सम्बन्धित समाचार:  सम्झना बोहरा हत्याकाण्डः देवर–भाउजु मिलेर बुहारीको हत्या