एजेन्सी। कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकै दिन एक हजार तीन सय जनाको मृत्यु भएको छ।
अमेरिकाको न्यूयोर्क शहर कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ। न्यूयोर्कमा विद्यालयहरु बन्द भइसकेका छन्। विश्वभर ५ करोड ७४ लाख बढी मानिस कोरोनाबाट संक्रमित भएका छन्।
कोभिड १९ संक्रमणका कारण विश्वभर १३ लाख ५० हजारभन्दा बढीको ज्यान गएको छ। संक्रमणदर युरोपमा पनि बढ्दै गएको छ। अहिलेसम्म युरोपमा एक करोड ५० लाख मानिस संक्रमित भएका छन्।
भारतमा ९० लाखभन्दा बढी मानिसमा संक्रमण पुष्टि भइसकेको छ। पछिल्लो समय मेक्सिकोमा पनि मृत्युदर बढ्दो छ। मेक्सिकोमा कोरोना संक्रमणका कारण एक लाख मानिसको ज्यान गएको छ।
मृत्यु धेरै हुनेमा मेक्सिको चौथो देश हो। कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका रहेको छ। अमेरिकामा दुई लाख ५४ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ।
त्यसपछि ब्राजिलमा एक लाख ६८ हजारभन्दा बढी तथा भारतमा एक लाख ३२ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।