एजेन्सी। फाइजर र उसको सहायक कम्पनी बायोएनटेकले कोभिड १९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा आवेदन दिएका छन्। उक्त खोप प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए) ले गर्नेछ। अमेरिकी सरकारले डिसेम्बर महिनाको मध्यसम्ममा खोपलाई स्वीकृति दिने अपेक्षा गरिएको छ। अन्तिम चरणका परीक्षणका तथ्याङ्कले ६५ वर्ष उमेरमाथिका मानिसलाई खोपले ९४ प्रतिशत जोगाउने देखाएको छ।
बेलायतले उक्त खोपको चार करोड मात्रा मगाइसकेको छ। त्यसमध्ये यो वर्षको अन्त्यसम्म उसलाई एक करोड खोप उपलब्ध भइसक्नुपर्नेछ। अमेरिकामा खोपको धेरै आवश्यकता देखिन्छ। जुन महिनायता पहिलोपटक त्यहाँ एकै दिनमा दुई हजार भन्दा बढीको मृत्यु भएको थियो।
यदि एफडीएले डिसेम्बरको आधासम्ममा स्वीकृति दियो भने फाइजर र बायोएनटेक केही घण्टाभित्रै खोप वितरण गर्न तयार भएको उनीहरूले बताएका छन्। विश्वव्यापी महामारी बनेर फैलिएको यो कोरोनाभाइरसको आनुवंशिक संरचना थाहा भएको १० महिनामै खोप विकासको यो कामलाई ठूलो उपलब्धि मानिएको छ। सामान्यता अमेरिकामा कुनै नयाँ खोप स्वीकृतिका लागि औसत समय आठ वर्ष रहँदै आएको छ। फाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्लाले आकस्मिक प्रयोगका लागि दिइएको आवेदन विश्वलाई कोभिड १९ को खोप दिने यात्रामा यो एउटा कोसेढुङ्गा भएको टिप्पणी गरेका छन्।
सुरुमा खोपको मात्रा अपर्याप्त हुने हुँदा सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसीपी) ले कसलाई पहिला दिने भन्ने निधो गर्नेछ। युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले पनि खोप यो वर्षको अन्त्यसम्म उपलब्ध हुन सक्ने बताएकी छिन्। लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा कार्यरत प्राध्यापक स्टिफन इभान्सले एफडीए र युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए) ले एकदमै सावधानीपूर्वक मूल्याङ्कन गर्ने बताए।
यसै साता सार्वजनिक भएको विवरणहरूले फाइजर र बायोएनटेक खोपको प्रभावकारिता ९५ प्रतिशत रहेको दावी गरेका छन्। यसको प्रभावकारिता सबै उमेरसमूहमा समान रहेको छ। परीक्षणमा जोखिममा रहेका वयस्क र जातजाति र फरक लिङ्गलाई बढी महत्व दिइएको थियो। परीक्षणका क्रममा खोप दिइएका मानिसमा सामान्यदेखि मध्य र छोटो समयका लागि अन्य प्रभाव पनि देखा परेका थिए।
मानिसको प्रतिरक्षा प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा उक्त भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो। खोप लिएपछि कोरोनाभाइरुसविरुद्ध लड्नका लागि शरीरले रोगसँग लड्ने एन्टिबडी र टी सेलहरू आफैँ बनाउँछ।