काठमाडाैं। नेपाल प्रज्ञा प्रतिष्ठानले गर्ने राष्ट्रिय कविता महोत्सव यस वर्ष आउँदो मङ्सिर २९ गते काठमाडाैंमा आयोजना हुने भएको छ। प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगित गरिएको थियो। प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले अब भौतिक दुरी कायम गरी महोत्सव गर्ने नयाँ मिति तय गरिएको बताएका छन्।
प्रतिष्ठानले २०२२ सालदेखि महोत्सव गर्दै आएको छ। यसअघि २०७२ सालमा गएको भूकम्प कारण कविता महोत्सव स्थगित भएको थियो। प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार राशिसमेत बढाउने निर्णय गरेको छ।
प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायका अनुसार प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ४० हजार र तृतीय हुने तीन जनालाई जनही ३० हजार रुपैयाँ नगदसहित पदक र प्रमाणपत्र दिइनेछ।