पेन्सिलभेनियामा दायर डोनाल्ड ट्रम्पको मुद्दा खारेज

एजेन्सी। हुलाक मार्फत खसालिएका दशौँ लाख मतलाई अवैध माग गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्सिलभेनियामा दायर गरेको मुद्दा न्यायाधीशले खारेज गरेका छन्।

मुद्दा खारेज गरेपछि चुनावको नतिजा आफ्नो पक्षमा उल्ट्याउने ट्रम्पको प्रयासमा गम्भीर धक्का लागेको छ।

जिल्ला अदालतका न्यायाधीश म्याथ्यू ब्रानले ट्रम्पको चुनावी अभियानले जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने प्रयास स्वरुप दायर गरेको मुद्दाका दाबीलाई प्रमाणले साथ नदिने बताए।

लगाइएका आरोपलाई पुष्टि गर्ने प्रमाण नरहेको भन्दै न्यायाधीश ब्रानले मुद्दा खारेज गरेका हुन्।

ट्रम्पले दायर गरेको मुद्दामा मतपरिणामलाई औपचारिकता प्रदान गर्नबाट रोक्नु पर्ने माग गरिएको थियो। ती सबै आरोप न्यायाधीशले खारेज गरेका छन्।

पेन्सिलभेनियामा जो बाइडेन ट्रम्पभन्दा ८१ हजारभन्दा बढी मतले अघि छन्। देशभर बाइडेनले ६० लाखभन्दा बढी मतको अग्रता लिएका छन्।

अन्य सम्बन्धित समाचार:  यमनको एक आप्रवासी शिविरमा आगलागी हुँदा आठ जनाको मृत्यु

निर्वाचनमा बाइडेनले ३०६ तथा ट्रम्पले २३२ इलेक्टोरल कलेज मत पाएका छन्।