कारोबार रकम निरन्तर बढ्दै, लगानीकर्ता शेयरबजारप्रति आकर्षित

नेप्से

काठमाडाै‌।

आइतबार शेयर बजारमा बैङ्किङ समुहमा लगानीकर्ताको आकर्षण बढेको छ। यस दिन बैङ्किङ उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ भने विकास बैंक उपसमूहको सूचक पनि ०. ६४ प्रतिशतले बढेको छ। आइतबार कारोबारमा आएका १२ उपसमूहमध्ये बैंकिङ, विकास बैंक र अन्य उपसमूहको सूचक बाहेक अन्य सबै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। केही दिन अघि सम्म ब्यापार, उत्पादनमूलक, निर्जीवन बीमा उपसमूहको उपसूचक उच्च रूपले बढ्दै आएकोमा आइतबार लगानीकर्ताले प्रोफिट बुक गर्दा यी उपसमूहको सूचकमा सामान्य गिरावट देखिएको छ।

यस दिन नेप्से सूचक ०. २६ प्रतिशत अर्थात ४. ६९ अङ्कले बढेर १७८२. ८१ विन्दुमा पुगेको छ। सेन्टेटिभ सूचक पनि २ अङ्कले बढेर ३४५. ०७ विन्दुमा पुगेको छ। आइतबार २०१ वटा कम्पनीको १ करोड ५९ लाख कित्ता शेयर ६ अर्ब ८७ करोड रुपैयाँमा खरिद बिक्री भयो।

आइतबार बजार खुलेको केही समयमा नै सूचक बढेर १८०० विन्दु माथि पुगेको भए पनि अन्तिम समयमा बिक्री चाप बढ्दा सूचक पुन १८०० विन्दु तल झरेको छ। तर कारोबार रकम निरन्तर बढ्दै जानुले लगानीकर्ता शेयर बजारप्रति आकर्षित छन भन्ने बुझिन्छ।

यस दिन सिटिजन म्युचुअल फन्डको इकाइ मुल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने जानकी फाइनान्सको शेयर मूल्य ९. २१ प्रतिशत, प्रभु बैंकको ६. ७१ प्रतिशत, नबिल बैंकको ६. ६३ प्रतिशत र अजोड इन्स्योरेन्सको ४. ८० प्रतिशतले बढेको छ।

यस दिन माउन्टेन हाइड्रोको शेयर मूल्य सबैभन्दा धेरै ८. ९३ प्रतिशतले घटेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनको ६. ०९ प्रतिशत, पोखरा फाइनान्सको ६. ०७ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ५. ५२ प्रतिशतले घटेको छ।

अन्य सम्बन्धित समाचार:  ओरालो लाग्यो सुनचाँदीको मुल्य