काठमाडौँ। विदेश जान अब लेभल ए मान्यता पाएका सरकारी प्रयोगशालाको पिसीआर रिपोर्ट मात्रै मान्य हुने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश जानेका लागि लेभल ए का सरकारी प्रयोगशालाको रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेको हो।
केही प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्टबारे विवाद भएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो। विदेश जानेहरूको स्वास्थ्य परीक्षण गरेपछि त्यसको जानकारी स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई दिनुपर्ने समेत निर्णय गरिएको छ।
मन्त्रालयले परीक्षणका क्रममा यसअघि पोजेटिभ र नेगेटिभ रिपोर्ट मात्रै दिने गरेकामा अबदेखि बोर्डर लाइन देखिएमा पनि पोजेटिभ नै मान्न सबै प्रयोगशालालाई निर्देशन दिएको छ।
पोजेटिभ र नेगेटिभ दुवै नदेखाइ बीचको लाइन देखिए त्यसलाई नेगेटिभ नमानी पोजेटिभ नै मानिने मन्त्रालयले जनाएको छ।