शेयर बजारमा एकैदिन ६ अर्ब ९० करोडको कारोबार

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

काठमाडौँ। शेयर बजारमा कारोबारले नयाँ रेकर्ड कायम गरेको छ। केही दिनयता लगानीकर्ता आकर्षित हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाउँदै गएको छ।

आइतबार बजार बन्द हुँदा ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ। गत साता बिहीबार एकैदिन ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको थियो। उक्त रेकर्डलाई आइतबारको कारोबारले तोडेको छ।

बजारमा दुई सय एक कम्पनीको ६३ हजार पाँच सय ७० पटकको कारोबारबाट एक करोड ६० लाख ३४ हजार सात सय १७ कित्ता शेयर खरिद बिक्री भएको छ।

कारोबार सुरु भएदेखि नै उतारचढाव देखिएको नेप्से परिसूचक कारोबार बन्द हुँदा भने ४ दशमलव ६९ अङ्कले बढेर १ हजार ७ सय ८२ दशमलव ८१ अङ्कमा बन्द भएको छ। दिनभर नेप्सेमा झण्डै ५० अङ्कको उतारचढाव देखिएको छ । सेन्सेटिभ परिसूचक पनि २ अङ्कले बढेर ३ सय ४५ अङ्कमा बन्द भएको छ।

अन्य सम्बन्धित समाचार:  भूकम्पले घर क्षति भएका थप ५४५ को निवेदन

कारोबारमा आएका समूहमध्ये बैंकिङ, विकास बैंक र अन्य समूहबाहेकका सबै समूहका सूचकहरु घटेका छन्।

यसअघिका दिनहरूमा व्यापार, बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूहबाट कमाइरहेका लगानीकर्ताहरू ती क्षेत्रको शेयर बिक्री गरी बैंकतर्फ आकर्षित भएको देखिन्छ।