कक्षा १२ को परीक्षा मंगलबारदेखि

काठमाडौं। कक्षा १२ को परीक्षा मंगलबारदेखि शुरु हुँदैछ। गत वैशाखमा हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण रोकिएको थियो।

बैशाखामा स्थगित गरिएको परीक्षा मंगलबारदेखि गर्न लागिएको हो। परीक्षाको सबै तयारी पूरा भइसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताए। उनले ढुक्क भएर परीक्षा दिन विद्यार्थीहरुलाई आग्रह गरेका छन्।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गर्न लागेको हो। कोरोना संक्रमण भएर परीक्षामा उपस्थित हुन नसकेका विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था गरिएको मन्त्री पोखरेलले बताए।

कूल पूर्णाङ्कमध्ये ४० अंकका लागि मात्रै लिखित परीक्षा हुनेछ। अरू कक्षा ११ को अंक, आन्तरिक कक्षा कार्य तथा बेलाबेलामा लिइएका परीक्षाबाट विद्यालयले आन्तरिक मूल्यांकन गरी राष्ट्रिय परीक्षा बोर्डमा अंक पठाउनेछन्।

अन्य सम्बन्धित समाचार:  हाल ५० लाख डोज कोभिसिल्ड खरिद गर्ने अवस्था छैनः स्वास्थ्य मन्त्रालय