हुम्लाको चार वटा गाउँपालिकामा पुनः सञ्चार विच्छेद

हुम्ला। हुम्लाको तल्लो क्षेत्रमा रहेका चार वटा गाउँपालिकामा पुनः सञ्चार विच्छेद भएको छ। नमस्ते टेलिफोनले काम नगर्दा यहाँका नागरिकले पटकपटक सास्ती खेप्दै आउनुपरेको छ। जिल्लाका सर्केगाड, अदानचुली, खार्पुनाथ, ताजाकोट, चङ्खेली, नाम्खा र सिमकोट गाउँपालिकाभित्र नौवटा नमस्ते टेलिफोनका टावर निर्माण गरिएको भए पनि सन्तोषजनक काम नगरेको यहाँका स्थानीयले गुनासो गरेका छन्।

जिल्लाको तल्लो क्षेत्रमा रहेको कालिकाको नमस्टे टेलिफोन सेवाले करिब एक महिना बढीदेखि काम गर्न छोडेको छ। यस्तै सर्केगाड गाउँपालिकाको भदालीमा रहेको नमस्ते टेलिफोन सेवाले महिनौँदेखि काम गर्न छोडेको स्थानीय शुरबहादुर रोकायाले बताए। पटकपटक मर्मतका लागि नेपाल टेलिकममा खबर गर्दा कुनै सुनुवाइ नभएको उनको गुनासो गरेको छ।

अन्य सम्बन्धित समाचार:  हुम्लामा हिमपात, हवाई उडान अवरुद्ध

राम्रोसँग मर्मत हुन नसक्दा जिल्लाको तल्लो क्षेत्रमा रहेको ताजाकोट, चङ्खेली, अदानचुली गाउँपालिकामा केही समय अगाडि मर्मत भएको भनिएको नमस्ते टेलिफोन सेवा फेरि अवरुद्ध भएको छ। विगत लामो समयदेखि हुम्लाको नमस्तेको टावरले काम नगर्दा मोबाइलमा रहेको रुपैयाँ मात्र सकिने तर फोन नहुने समस्या आएको उनले बताए।

सातवटै गाउँपालिकाभित्रका करिब ५० हजारभन्दा बढी नागरिक यो सेवाबाट बञ्चित हुनुपरेको छ। एक अर्कामा फोन गर्दा नसुनिने अवस्था अझैँसम्म पनि नहटेको स्थानीयको गुनासो रहेको छ। जिल्ला बाहिर रहेका आफन्तसँग कुरा गर्न खोज्दा पनि फोन नभएपछि विभिन्न काममा बाधा परेको चङ्खेली गाउँपालिकाका स्थानीय विष्णुभक्त जैसीले बताए।

चङ्खेली गाउँपालिका मेल्छाममा रहेको नमस्तेको टावरले कात्तिक ९ गतेदेखि काम नगरेपछि सो ठाउँका करिब आठ हजार नागरिक टेलिफोन सेवाबाट बञ्चित हुनुपरेको यहाँका स्थानीयले गुनासोगरेका छन्।