दिपक महरा, बैतडी।
बैतडीमा मंगलबार जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ वर्षीय कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बास्कोटका ७० वर्षीय पार्वतीदेवी चन्द, सोही ठाउँका ७२ वर्षीय पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावड रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए।
अन्य ४ जना घाइते भएका छन्। २ जना सामान्य घाईते रहेका छन। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।
बैतडीको सिमानाका झुलाघाटबाट सदरमुकाम गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिकाको बुड्डा भन्ने स्थानमा दिउँसो डेढ दुर्घटनामा परेको हो। जिप चालक गोपाल कार्की फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान छ। जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ।