बर्दिबासमा प्रहरीले चलाएको गोली लागेर तीन जना स्थानीय घाइते

महोत्तरी। महोत्तरीको बर्दिबासमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ। प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन्। मंगलबार बिहान ७ बजेदेखि सुरु भएको प्रदर्शनका कारण  दिनभर जस्तै अवस्था तनावग्रस्त बन्न पु्ग्याे।

६ वर्षीया बालिका हत्याको विरोधमा पूर्वपश्चिम राजमार्गस्थित बर्दिबासमा विरोध प्रदर्शनको क्रममा प्रहरीले राजमार्ग खुलाउन चलाएको गोली लागेर तीन जना स्थानीय घाइते  समेत भए। बालिका हत्याको विरोध गर्दै बालिकाको शव स्थानीयहरुले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमै राखेर प्रदर्शन गर्ने क्रममा स्थितिलाई नियन्त्रणमा लिन र राजमार्ग खुलाउन दर्जनौं राउण्ड अश्रु ग्यास र गोली समेत चलाएको हो।

घाइते हुनेमा बर्दिवासकै श्याम कार्की, सञ्जय न्यौपाने र नाम खुल्न नसकेका अर्काे एकजना छन्। श्यामको टाउकोमा गोली लागेको छ भने सञ्जयको खुट्टामा गोली लागेको छ। गम्भीर घाइते दुई जनालाई काठमाडौं ल्याईएकाे छ भने एकजनाको बर्दिवासस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ।