बर्दिबासमा गोली लागेका युवाको काठमाडौँमा उपचारका क्रममा मृत्यु

काठमाडौँ। बालिका हत्याको विरोधमा प्रदर्शनका क्रममा मंगलबार महोत्तरीको बर्दिबासमा प्रहरीको गोली लागी घाइते भएका एक युवाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ।

बर्दिबास नगरपालिका १ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा मंगलबार राति काठमाडौँस्थित ग्राण्डी अस्पतालमा ज्यान गएको हो।

६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि हत्या गरिएको थियो। सो घट्नाको विरोधमा बर्दिबासमा प्रदर्शनका क्रममा न्यौपानेलाई प्रहरीको गोली लागेको थियो। खातुनको शव पूर्वपश्चिम राजमार्गमा राखेर स्थानीयवासीले मंगलबार दिनभर प्रदर्शन गरेका थिए।

गोली लागी गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलार्ई उपचारका लागि मंगलबार हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो। न्यौपानेको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको अस्पतालले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले आफ्नो चुनावी क्षेत्रमा गरे चार पुलको उद्घाटन

हत्या गरी बोरामा हाली फालिएको अवस्थामा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो। बालिका दुई दिनदेखि बेपत्ता थिइन्।

बालिका हत्या आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ घर भई बर्दिवास नगरपालिका १४ बस्ने २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरेको छ। हत्याको आरोप लागेका साहको घरमा मंगलबार स्थानीयले आगजनी गरेका थिए।