काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण बुधबारदेखि सुरु हुँदैछ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीले प्रशिक्षण थाल्ने छ। नेपाली टोलीले प्रशिक्षक जगत टमटाको नेतृत्वमा प्रशिक्षण गर्नेछ।
नेपाली क्रिकेट टोली ९ महिनापछि सामुहिक प्रशिक्षणमा फर्कन लागेका हो। कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेटको सामुहिक प्रशिक्षण बन्द थियो।
लामो समय खेलाडी मैदान बाहिर रहेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सावधानी अपनाएर प्रशिक्षण गराउन लागेको हो।
बन्द प्रशिक्षणमा सहभागी खेलाडी, स्टाफ र अफिसियलको मंगलबार कोरोना परिक्षण गराएको क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। क्यानले २२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ।