वैदेशिक रोजगार विभागद्वारा तीन वटा म्यानपावरको कारोबार रोक्का

काठमाडौँ। वैदेशिक रोजगार विभागले तीन वटा म्यानपावरको कारोबार रोक्का गरेको छ। विभागले  एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलको कारोबार रोक्का गरेको हो। नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले यी म्यानपावरको कारोबार रोक्का गरिएको जानकारी दिएको छ।

कतारले वैदेशिक रोजगार ऐनविपरीत कतार प्रहरीमा जान इच्छुक नेपालीको अन्तर्वार्ता लिन थालेपछि वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूमा छापा मारेको जनाएकाे हाे। नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले सोमबार र मंगलबार एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलमा छापा मारेको हाे।

विभागले तीनवटै कम्पनीका सञ्चालकलाई २४ घण्टाभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएको थियो। होप इन्टरनेसनलमा कतारी दूतावासको कूटनीतिक सवारीसाधनसमेत भेटिएको थियो।कतारको आन्तरिक मन्त्रालयको मानव संसाधन विभागले अपारदर्शी ढंगबाट छनोट गरिएका म्यानपावर कम्पनीमार्फत जम्मा पारिएका युवासँग सोमबारै अन्तर्वार्ता लिन सुरु गरेको हो ।

अन्य सम्बन्धित समाचार:  मलेसियामा रहेका नेपाली कामदारलाई पनि सामाजिक सुरक्षामा आवद्ध गराइने

अन्तर्वार्ता लिन कतारका कर्णेलको नेतृत्वमा टोली काठमाडौंमा आएको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कतारको प्रहरी सेवामा भर्ना गर्न कतैबाट अनुमति नलिइएको बताए।