नेप्से एकैदिन ६४ अंक भन्दा धेरैले बढेपछि लगानीकर्ताहरु उत्साहित

काठमाडौं। सेयर कारोबार मापक नेप्से परिसूचक निरन्तर बढिरहेकाे छ। आज एकैदिन ६४ अंक भन्दा धेरैले बढेपछि लगानीकर्ताहरु उत्साहित भएका छन्। साताको चौथौं कारोबार दिन बुधबार नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८८ अंकमा पुगेको हो।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि माथि चढेकाे छ। सेन्सेटिभ इन्डेक्स १२ दशमलव ९६ अंकले बढेर ३ सय ६२ दशमलव ३४ अंकमा पुगेको छ। कारोबार रकम ५ अर्ब नाघेको छ भने ३ वटा कम्पनीको १० प्रतिशतले सेयर मूल्य बढेर सर्किट ब्रेक लागेको छ। शिवम् सिमेन्ट, एनएमबि माइक्रोफाइनान्स र बिशाल बजार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको हो।

अन्य सम्बन्धित समाचार:  काँग्रेसले बोलायो संसदीय दलको बैठक

नेपाल स्टक एक्सचेञ्जले दिएकाे जानकारी अनुसार दिनभरकाे ४० हजार ७ सय ६५ कारोबारबाट १९६ कम्पनीका १ करोड ४४ लाख १८ हजार १ सय २० कित्ता सेयर किनबेच भएका छन्। जसबाट ५ अर्ब १३ कराेड १८ लाख ८६ हजार ४ सय ८८ रुपैयाँको सेयर कारोबार भएको जनाएको छ।

बुधबार नेप्सेमा कारोबार हुने १३ उपसमूहहरु मध्ये होटल १ दशमलव ०२ अंकले ओरालो लागेको छ भने बाँकी सबै समूहहरु बढेर हिरयो देखिएका छन्। सबैभन्दा धेरै व्यापार ७ दशमलव ९३ प्रतिशत अर्थात १ सय ७९ दशमलव ९९ अंकले बढेको छ।

यसैगरी बैंकिङ ४०.४ अंकले, विकास बैंक २९.१८, जलविद्युत् २४.७८, फाइनान्स १५.२८, निर्जिबन जीवन बिमा ३१६.६९, उत्पादनमूलक ३००.३३, लघुवित्त १०६.८६ र जीवन बिमा १९०.४३ अंकले उकालो लागेको छ।