नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष न्यौपाने काठमाडौंबाट पक्राउ

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई पक्राउ गरेकाे छ। बुधबार दिउँसो काठमाडौंबाट पक्राउ परेका उनीमाथि नेपाल इन्जिनियरिङ कलेजले प्रहरीमा उजुरी दर्ता गरेकाे थियाे। उनीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगी गरेकाे आरोप रहेको सीआईबीका निर्देशक डीआईजी सहकुल थापाले जानकारी दिए।

न्यौपाने नेपाल इन्‍जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ म‌ंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए। उनी अध्यक्ष भएका बेला कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ देखिएको छ। उनको नाममा मात्र ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बिगो कायम भएको छ।

अन्य सम्बन्धित समाचार:  बानेश्वर वृतकी प्रहरी हवल्दार ११ लाख घुससहित प्रकाउ

२ वर्षअघि न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पद छोड्नुपरेको थियो।