सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्विकृति

काठमाडौं। सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्विकृति प्रदान गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयलाई स्विकृति दिएको हो।

बैठकमा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति माग्दै ठाडो प्रस्ताव पेश गरेकी थिइन्। ठाडो प्रस्तावका आधारमा उचाइ घोषणा गर्न स्वीकृति दिइएको छ। यद्यपि सगरमाथाको उचाइ कति छ भन्ने जानकारी दिइएको छैन।

सागरमाथाको उचाई बढेको अनुमान गरिएको छ। नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्ने पूर्व सहमति भएको छ। चिनियाँ रक्षामन्त्रीको आसन्न नेपाल भ्रमणका क्रममा यसबारे घोषणा हुने बताइएको छ। मन्त्रालयका प्रवक्ता जनकराज जोशीले पनि उचाईसम्बन्धी प्राविधिक काम सम्पन्न गरेको र घोषणाका लागि चीनसँग परराष्ट्र मन्त्रालयले समन्वय गर्ने बताए।

अन्य सम्बन्धित समाचार:  एकै दिनमा ७,६६० जना कोरोना संक्रमित थपिए, ५५ जनाको मृत्यु

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो। यही कारणले सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो। यसमा नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए। पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८ हजार ८४८ मिटर छ।