दक्षिण भारतमा चक्रवात आँधी: भारी वर्षा र तीव्र गतिमा हावा चल्दै

एजेन्सी। दक्षिण भारतमा निवार नामक शक्तिशाली तुफानका कारण भारी वर्षा हुनुका साथै तीव्र गतिमा हावा चलिरहेको छ। तमिलनाडु र पुण्डुचेरीलगायत ठाउँमा निरन्तर भारी वर्षा हुनुका साथै तीव्र गतिमा हावा चलिरहेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ। हावाको रफ्तार १ सय २० देखि १ सय ४५ किलोमिटर प्रतिघण्टा रहेको मौसम विज्ञान विभागलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन्।

तमिलनाडु र पुण्डुचेरीका एक हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। चेन्नई र पुण्डुचेरीमा अझै तीन घण्टा भारी वर्षा र तीव्र गतिमा हावा चल्ने चेतावनी दिइएको छ। तुफानका कारण दक्षिण–पश्चिम रेलवेले एक दर्जनभन्दा धेरै रेल सेवा आजका लागि बन्द गरेको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धारका लागि ३० टिम तयार पारिएको छ। मौसम विभागका अनुसार दक्षिण आन्ध्र प्रदेशको तटवर्ती क्षेत्रमा पनि भारी वर्षा र तीव्र गतिमा हावा चल्ने सम्भावना छ। निवार तुफानका कारण तमिलनाडुका १३ जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ। अहिले चक्रवात उत्तर पश्चिम दिशातर्फ बढिरहेको छ।

अन्य सम्बन्धित समाचार:  माल्दिभ्सका सभामुख मोहम्मद नसिद बम विस्फोटमा घाइते