परिवार नियोजनका साधन पुरुष भन्दा महिलाले धेरै प्रयाेग गर्दै

काठमाडौँ। परिवार नियोजनको साधनमा महिलाको तुलनामा पुरुषको सहभागिता कम हुने गरेको पाइएको छ। परिवार नियोजनका स्थायी र अस्थायी साधन दुवैमा महिलाको सहभागिता पुरुषभन्दा बढी हुने गरेको पाइएको छ।

परिवार नियोजनको स्थायी साधन मिनील्याप महिला र भ्यासेक्टोमी पुरुषले गर्ने गरेका छन्। पुरुषमा स्थायी भ्यासेक्टोमी र अस्थायी कण्डम मात्र रहेको तथा महिलामा डिपोप्रोभेरा, इम्प्लाण्ट, पिल्स, कपर टी (आइयुसिडी) अस्थायी र स्थायी मिनील्याप छ। पुरुषप्रधान मुलुक भएको र स्थायी बन्ध्याकरण गर्दा नकारात्मक सन्देश प्रवाह हुँदा पुरुषको सहभागिता कम हुने गरेको बताइएको छ। पुरुषले स्थायी बन्ध्याकरण नगर्दा बाध्य भएर महिलाले गर्नुपरेको बताइएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवारकल्याण महाशाखाका तथ्याङ्क अधिकृत पुष्कर बिजुक्छेका अनुसार विगत चार आर्थिक वर्षमा पुरुषका तुलनामा करीब तीनगुणा महिलाले स्थायी बन्ध्याकरण गरेका छन्। सो चार आवमा भ्याक्सेटोमीमा १३ लाख नौ हजार ९५३ र मिनील्यापमा ४० लाख ४२ हजार ६९८ जना सहभागी भए। आव २०७५÷७६ मा १० लाख एक हजार ८०६ महिलाले मिनील्याप र तीन लाख १६ हजार २६७ पुरुषले भ्याक्सेटोमी गराएका छन्।

अन्य सम्बन्धित समाचार:  नयाँ शैक्षिक सत्र फेरि सार्ने तयारी

यस्तै आव २०७४÷७५ मा १० लाख पाँच हजार ८३० महिला र तीन लाख २५ हजार २६६ पुरुष, आव २०७३÷७४ मा १० लाख ४० हजार ७८ महिला र तीन लाख ४५ हजार ६३४ पुरुष तथा आव २०७२÷७३ मा नौ लाख ९२ हजार ९८४ महिला र तीन लाख २२ हजार ७९२ पुरुष स्थायी बन्ध्याकरणमा सहभागी छन्।

त्यसो त पुरुषको तुलनामा महिलाले परिवार नियोजनका स्थायी वा अस्थायी साधन बढी प्रयोग गर्दा जोखिमसमेत हुने गरेको छ। एक त शिशु जन्माउनुपर्ने र अर्कातिर परिवार नियोजनका लागि सहभागी हुनुपर्ने जस्ता बाध्यताले जोखिम बढ्ने जनस्वास्थ्यविद्को भनाइ छ। भ्यासेक्टोमीमा पुरुषमा रहेको शुक्रकिट बहने नलीलाई काटिन्छ। मिनील्याप महिलाको डिम्बको दुई नशा काटेर गरिन्छ। पुरुषको बन्ध्याकरण सजिलो र महिलाको मिनील्याप जटिल खालका शल्यक्रिया हुन्।

अन्य सम्बन्धित समाचार:  अक्सिजन अभावले वीर अस्पतालको नयाँ भवन सञ्चालनमा समस्या

परिवारकल्याण महाशाखाका वरिष्ठ नर्सिङ प्रशासक कविता अर्यालले परिवार नियोजनको साधन पुरुषका तुलनामा महिलाको बढी भएकाले स्वाभाविकरूपमा महिलाको सहभागिता बढी हुने बताए।

पुरुषले यौनशक्तिमा कमी आउनेजस्ता भ्रमले गर्दा स्थायी बन्ध्याकरण कम हुने गरेको उनी बताउँछन्। “भ्याक्सेटोमी गर्दा यौन शक्तिमा असहजता आउँछ, यौनशक्तिमा कमी आउँछ जस्ता भ्रमले गर्दा पुरुष भ्याक्सेटोमी गर्न मान्दैनन्”, उनले भने।