बैतडीमा बलात्कार घट्नामा मिलापत्र गराउने विरुद्ध जाहेरी

बैतडी। बैतडीमा युवतीमाथि जबरजस्तीकरणी गर्ने युवकसहित मिलापत्र गराउने ४ जना विरुद्ध जाहेरी दर्ता गरिएको छ।

जिल्ला प्रहरी कार्यालयमा बिहीबार पीडित युवतीले जबरजस्तीकरणी गर्ने युवकसहित घटना गाउँमै मिलाउन खोजेका चार जना विरुद्ध जाहेरी दर्ता गराएकी हुन्।

प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार जाहेरी लगत्तै मिलापत्र गराउने दुई जनालाई पक्राउ गरिएको बताए। बलात्कारका आरोपीसहित दुई जना हाल फरार छन्।

सिगास गाउँपालिका–३ मा १८ वर्षीया युवतीलाई गत जेठ २३ गते बलात्कार गरिएको थियो। सो घटनालाई गाउँमै मिलापत्र गराउँदै अगुवाहरुले पीडक पक्षले युवतीलाई १ तोला सुन दिने सहमती गराएका थिए। तर पीडकले सुन नदिएपछि घटनाको रहस्य खुलेको हो।