काठमाडाैं।
कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको माउन्टेन फ्लाइट (पर्वतीय उडान) आजदेखि शुरु भएको छ। लकडाउनको करिब आठ महिनापछि माउन्टेन फ्लाइट शुरु भएको हो।
सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमश्रङ्खला दृश्यावलोकनका लागि माउन्टेन फ्लाइट निकै आकर्षक मानिन्छ। माउन्टेन फ्लाइटका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायित हुन्छन्। अनुकूल मौसमका कारण पनि माउन्टेन फ्लाइटको आकर्षण बढ्दो छ। विशेषगरी शरद ऋतु माउन्टेन फ्लाइटका लागि उपयुक्त मानिन्छ।
आज पहिलो उडानमा १८ नेपाली यात्रु थिए। माउन्टेन फ्लाइटमा विदेशी तथा नेपाली दुवैको आकर्षण रहे पनि अहिले विदेशी पर्यटकको चहलपहल छैन। यसअघि बुद्धले अङ्ग्रेजी वर्ष सन् २०२० को मार्च १७ मा अन्तिम माउन्टेन फ्लाइट शुरु गरेको थियो। त्यसपछि नेपालमा कोभिड नियन्त्रणका लागि देशभार लागू भएको लकडाउन र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुलेको थिएन। असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो भने भदौ १६ बाट अन्तरराष्ट्रिय नियमित उडान शुरु भएको थियो। आन्तरिक पर्यटलाई आकर्षण गर्नेगरी आकर्षक छुट तथा अफरसहित हरेक शनिबार माउन्टेन फ्लाइट सञ्चालन गरिने बताइएको छ। माउन्टेन फ्लाइटका यात्रुले एक टिकट खरिद गर्दा थप एक टिकट निःशुल्कको व्यवस्था गरिएको बताइएको छ।
शरद ऋतु दृश्यावलोकन र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ। अहिले अवस्था सामान्य हुन्थ्यो भने माउन्टेन फ्लाइटमा भीड लाग्ने थियो। तर परिस्थिति प्रतिकूल छ। माउन्टेन फ्लाइटमा एयरलाइन्सबीच पनि प्रतिस्पर्धा नै चल्ने गरेको थियो। जहाज तथा हेलिकप्टरलेसमेत माउन्टेन फ्लाइट गर्थे।
माउन्टेन फ्लाइट काठमाडौँबाट आवतजावत गरी एक घण्टाको हुन्छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान शुरु भई गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजङ्घा हिमाल नजिक पुगेर पुनः काठमाडौँमा अवतरण हुन्छ। अग्ला हिमालसँगै महाभारत पर्वत शृङ्खलाको रमणीय दृश्य हेर्न स्वदेशी तथा विदेशी पर्यटक लालायित हुन्छन्।
माउन्टेन फ्लाइटका लागि लकडाउन अघि नेपाली र भारतीयलाई रु आठ हजार ८२५ र अन्य मुलुकका नागरिकलाई १९७ अमेरिकी डलर भाडा लाग्ने गरेको थियो। बुद्ध एयर, यती एयरलाइन्स र सिम्रिक एयरलाइन्सले माउन्टेन फ्लाइट भर्दै आएका छन्। वायु सेवा सञ्चालक सङ्घका अनुसार आन्तरिक उडानका लागि हाल १० हेलिकप्टर कम्पनीसहित १९ वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्।