दोस्रो एक दिवसीय: अष्ट्रेलियाले दियो भारतलाई ३९० रनको विजय लक्ष्य

एजेन्सी। अष्ट्रेलियाले दोस्रो एक दिवसीय क्रिकेटमा भारतलाई जितका लागि ३ सय ९० रनको फराकिलो लक्ष्य दिएको छ। सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनाएको हो। सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाको फराकिलो स्कोरमा स्टिभ स्मिथले शतकीय इनिङ्स खेले। लगातार दोस्रो खेलमा शतक बनाएका स्मिथले १ सय ४ रन बनाए।

पाँच अर्धशतक

यस्तै डेभिड वार्नर, एरोन फिञ्च, ग्लेन म्याक्सवेल र मार्नस लबुशेनले अर्धशतकीय इनिङ्स खेले। ७७ बलमा ८३ रन बनाएका वार्नर २६ औँ ओभरमा दोस्रो रन लिने क्रममा रन आउट हुन पुगे। त्यस्तै शुरुवाती क्रममा आएका फिञ्च ६० रन बनाउँदा विराट कोहलीको हातबाट क्याच आउट भए भने १०४ रन बनाउँदा ४२ औँ ओभरमा कप्तान स्टिभ स्मिथ हार्दिक पाण्ड्याको बलमा शामीद्वारा क्याच आउट गराइए।

अन्य सम्बन्धित समाचार:  ललितपुर फुटबल संघका अध्यक्षमाथिको निलम्बन फुकुवा

टिमको चाैथो विकेटका रुपमा मार्नस लबुशेन व्यक्तिगत ७० रन बनाउँदा ४९ औँ ओभरमा बुम्राहको बलमा क्याच आउट भए। अर्का अर्धशतकधारी ग्लेन म्याक्सवेल २९ बलमा ६३ रन तथा उनलाई क्रिजमा साथ दिन आएका मोजेज हेन्रिक्स १ बलमा २ रन बनाएर अविजित रहे।

बलिङतर्फ भारतका मोहमद शामी, जसप्रित बुम्राह र हार्दिक पाण्ड्याले समान १-१ विकेट लिए भने डेभिड वार्नरको विकेट रविन्द्र जडेजाको बलमा रन आउटका रुपमा आएको थियो।

३६ चाैका १० छक्का

पहिलो इनिङ्समा जम्मा ३६ चाैका १० छक्का प्रहार भए। तीमध्ये कप्तान स्मिथले १४ चाैका र २ छक्का, डेभिड वार्नरले ७ चाैका र ३ छक्का, म्याक्सवेलले ४ चाैका र ४ छक्का, फिञ्चले ६ चाैका र १ छक्का तथा मार्नस लबुसेनको नाममा ५ चाैका मात्र रह्यो। उनले ७० रन बनाउने क्रममा कुनै छक्का प्रहार गर्न सकेनन्।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव समूहको सम्पादकहरुसँग छलफल

यता ३९० रनको विजय लक्ष्य पाएको भारतले जवाफी ब्याटिङ थालेको छ। शुरुवाती ब्याट्सम्यानका रुपमा मायांक अग्रवाल र शिखर धवन क्रिजमा रहेका छन्। यतिबेलासम्म भारतले २ ओभरमा कुनै विकेट नगुमाइ १२ रन बनाएको छ।