बैतडी। बलात्कारको घटनामा मिलापत्र गराएको आरोपमा बैतडीमा वडाध्यक्ष पक्राउ परेका छन्। जिल्लाको सिगास गाउँपालिका ३ की १८ वर्षीया किशोरी बलात्कारको घटनामा मिलापत्र गराएको भन्दै सिगास गाउँपालिका ३ का वडाध्यक्ष शेरसिंह साउद पक्राउ परेका हुन।
प्रहरीले सोही ठाउँका अन्य ३ जनालाई पनि नियन्त्रणमा लिएको छ। घटना मिलापत्रमा संलग्न रहेका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो। योसँगै किशोरी बलात्कार प्रकरणमा ६ जना पक्राउ परिसकेको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।
यसअघि गत बिहीबार सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। बैतडीको सिगास गाउँपालिका मा १८ वर्षीया युवतीमाथि गत जेठ २३ गते जबरजस्ती करणी गरिएको थियो।
सो घटनालाई गाउँमै मिलापत्र गराउँदै अगुवाहरूले पीडक पक्षले युवतीलाई १ तोला सुन दिने सहमति गरेका थिए। तर पीडकले सुन नदिएपछि घटना बाहिरिएको थियो। बलात्कारमा संलग्न भनिएका स्थानीय दीपक सिंह धामी अहिले फरार छन्।