चीनसँगका सम्झौता कार्यान्वयन प्रक्रियामा: प्रधानमन्त्री

काठमाडाै‌।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा समान मत व्यक्त गरे। प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले चीनका राज्य परिषद् सदस्य वेइसँग सन् २०१६ मा आफूले गरेको चीन भ्रमणका क्रममा भएको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका क्रममा रहेको अवगत गराए।

भेटमा सहभागी प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले गत वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी चीन फिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोराए। यसबीच राष्ट्रपति विद्यादेवी भण्डारीको पनि चीनमा औपचारिक भ्रमण भएको थियो।

अन्य सम्बन्धित समाचार:  संघीय राजधानी काठमाडौं बाहिर सारौं : डा. बाबुराम भट्टराई

रक्षा मन्त्रालयको कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले चीनले नेपालमा दूरसञ्चार, रेल, विद्युत्, आर्थिक र सामाजिक क्षेत्रको पूर्वाधार विकासमा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले नेपाल समृद्धिका क्षेत्रमा चीनको विकास र सफलताबाट सिक्न चाहेको पनि जनाए।

प्रत्युत्तरमा चिनियाँ मन्त्री वेइले नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्नातर्फबाट कुनै समस्या नरहेको उल्लेख गर्दै दुवै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्काे देशसँगको सम्बन्धमा तेस्रो मुलुकको सम्बन्धलाई जोड्न नहुने बताए।

सल्लाहकार डा भट्टराईका अनुसार मन्त्री वेइले चीन क्षेत्रीय र अन्तरराष्ट्रिय शान्तिका पक्षमा समेत रहेको स्मरण गराए। आजै प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटमा आफूहरुले थप सैन्य सहयोग गर्ने विषयमा छलफल गरेको पनि मन्त्री वेइले जानकारी गराएका थिए। दुई देशबीच लामो समयदेखि घनिष्ठ र समस्यारहित सम्बन्ध रहेकामा दुवै नेताले भेटका अवसरमा सन्तोष व्यक्त गरेका थिए।