तेह्रौँ सागको खर्च विवरण एक वर्षपछि सार्वजनिक

काठमाडौँ। राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले एक वर्षपछि १३औं दक्षिण एसियाली खेलकुद (साग) को खर्च विवरण सार्वजनिक गरेको छ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवालले कोरोना महामारीका कारण खर्च विवरण सार्वजनिक गर्नमा ढिलाइ भएको बताए। राखेपले आइतबार पत्रकार सम्मेलन गर्दै २०७६ साल मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन भएको १३औं सागको खर्च विवरण सार्वजनिक गरेको हो।

साग सम्पन्न भएको तीन महिना भित्रै सागको खर्च विवरण सार्वजनिक गर्ने योजना भएपनि कोरोना महामारीका कारण ढिलाइ भएको बताए। सदस्य सचिव सिलवालका अनुसार साग खेलकुदतर्फ रु एक अर्ब ३१ करोड ७८ लाख ४३ हजार खर्च भएको छ भने पूर्वाधार निर्माणतर्फ रु दुई अर्ब ८६ करोड १४ लाख २८ हजार खर्च भएको छ।

सरकारबाट, टिकट बिक्रीबाट, विज्ञापनबाट र सागमा सहभागी राष्ट्रबाट प्राप्त भएको रकम गरी कूल रु एक अर्ब ३७ करोड २७ लाख ९४ हजार आम्दानी भएको उनले जानकारी दिए। यसैगरी रु एक करोड ९३ लाख ८० हजार खर्च गर्न नसकी फ्रिज भएको सिलवालले बताए।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा विघटनका मुद्दामा बहस गर्न समय तोकियो

सदस्य सचिव सिलवालका अनुसार टिकट बिक्रीबाट रु दुई करोड ६७ लाख ११ हजार, विज्ञापनबाट रु २० लाख ९९ हजार तथा सहभागी राष्ट्रहरुबाट रु ११ करोड २१ लाख ३५ हजार प्राप्त भएको थियो।

साग प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा रु ११ करोड ५९ लाख, ८८ हजार खर्च भएको छ। होटल बसोबासमा रु १३ करोड ५९ लाख, ६७ हजार, खेल सामग्री व्यवस्थापनमा रु २८ करोड २२ लाख, ८३ हजार, राष्ट्रिय टोली व्यवस्थापनमा रु ३० करोड ८० लाख ८१ हजार तथा सचिवालयतर्फ १५ करोड १७ लाख ९२ हजार खर्च भएको छ।

यसैगरी १३औं सागमा पदक विजेता खेलाडी, प्रशिक्षक र सहभागी राष्ट्रिय संघलाई प्रदान गरिएको पुरस्कारवापत गरी रु २२ करोड ७६ लाख खर्च भएको राखेपले जनाएको छ। सदस्य सचिव सिलवालका अनुसार रु तीन करोड ५५ लाख ७१ हजार मौज्दात रहेको छ। सरकारले साग सञ्चालन गर्नका लागि रु एक अर्ब २३ करोड १८ लाख ४८ हजार उपलब्ध गराएको उनले बताए।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा विघटनविरुद्धको बहस माघ महिनाभरी चल्ने

यसैबीच सदस्य सचिव सिलवालले यस वर्ष गण्डकी प्रदेशमा आयोजना गर्ने भनेर घोषणा गरिएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको टुंगो मंसिर मसान्तसम्म लाग्ने बताए। कोरोना महामारीका कारण नवौँ राष्ट्रिय प्रतियोगिताको समय तालिका निर्धारण गर्न नसकिएको उनले उल्लेख गरे। खेलकूद प्रतियोगिता कोरोना संक्रमण बढाउनका लागि नभएको उनको भनाइ थियो।

यस्तै १४ औं साग आयोजना गर्ने पालो पाकिस्तानको भएको तर पाकिस्तानले गर्न सक्ने वा नसक्नेबारे निर्णय गर्न बाँकी रहेको सिलवालले उल्लेख गरे। पाकिस्तानले साग आयोजना गर्न असफल भए बंगलादेश र श्रीलंकाले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्ने इच्छा देखाएको उनले जानकारी दिए।