काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ वाटमोर नियुक्त हुने सम्भावना छ।
नयाँ मुख्य प्रशिक्षकका रुपमा वाटमोरलाई केही दिनमा जिम्मेवारी दिने सम्भावना अत्यधिक रहेको नेपाल क्रिकेट संघ (क्यान) श्रोतले बतायो। मुख्य प्रशिक्षकका लागि अष्ट्रेलियाका पूर्व खेलाडी वाटमोर क्यानको पहिलो रोजाईमा छन्।
वाटमोर नेपाल आउन इच्छुक छन्। क्यानले प्रशिक्षक बन्न ६० वर्ष ननाघेको हुनुपर्ने योग्यतामा तोकेपनि विशेष अवस्थामा उनलाई ल्याउन सक्ने श्रोतले बतायो।
वाटमोरको उमेर ६६ वर्ष रहेको छ। वाटमोरले अष्ट्रेलियाबाट ७ टेष्ट तथा १०८ प्रथम श्रेणीको क्रिकेट खेलिसकेका छन्।
वाटमोरकै प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ मा पहिलो पटक एक दिवसियि विश्वकप जितेको हो। उनले सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षकको रुपमा जिम्मेवारी निभाएका थिए।
वाटमोर इन्डियन प्रिमियर लिग (आइपिएल)मा सन् २०१० र २०११ मा कोलकाता नाइट राइडर्सको प्रशिक्षक रहेका थिए। उनी सन् २०१२ मा पाकिस्ताको प्रमुख प्रशिक्षक भएका थिए।
वाटमोरले सन् २०१४ मा जिम्बावेको प्रशिक्षक भएर काम गरेका थिए। सन् २०२० को केही समय उनले सिंगापुरको प्रशिक्षकका रुपमा पनि काम गरिसकेका छन्।
राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्ति पक्रिया अन्तिम चरणमा पुगेको छ। क्यानले गत भदौमा मुख्य प्रशिक्षकका लागि खुल्ला आव्हान गरेको थियो।
मुख्य प्रशिक्षकका लागि ७२ जनाले आवेदन दिएका थिए। क्यानले पहिलो चरणमा २५ जनाको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)लाई पठाएको थियो। अन्तिममा १२ जनाले अन्तरवार्ता दिएका थिए।
क्यानले यसै महिनाभित्र मुख्य प्रशिक्षकको नाम सार्वजनिक गर्ने बताइएको छ। एक वर्षदेखि नेपालले अन्तर्राष्ट्रिय प्रशिक्षक राख्न सकेको छैन। गत वर्ष माघमा भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि उक्त पद रिक्त छ।
पछिल्लो समय जगत टमटाले खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन्।