सधैं होइन, एक सय दिन मास्क लगाऔंः जो बाइडन

काठमाडौं। नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनले एकसय दिनसम्म मास्क लगाइराख्न आफ्ना नागरिकलाई आग्रह गरेका छन्। सीएनएनसँगको अन्तर्वार्तामा बाइडनले आफूले शपथ ग्रहण गरेको पहिलो दिन आफूले एक सयदिनका लागि अमेरिकी नागरिकहरुलाई मास्क लगाउन आग्रह गर्ने बताएका हुन्।

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि मास्क लगाउनु आवश्यक रहेको भन्दै बाइडनले मास्क लगाएर मुख ढाक्नाले कोरोना संक्रमण निकै कम हुने बताए। साथै उनले सरकारी कार्यालयहरुमा पनि मास्क लगाउनुपर्ने नियम ल्याउने बताएका छन्।

उनले मास्क लगाउनुपर्ने नियम सधैंका लागि नभई केवल एक सयदिनका लागि हुने बताएका छन्। अहिलेसम्म अमेरिकामा एक करोड ४१ लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने दुई लाख ७६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ। उनले सबैले यो नियम पालना गर्ने हो भने कोरोना संक्रमणमा ठूलो कमी आउने विश्वास व्यक्त गरे।

अन्य सम्बन्धित समाचार:  क्यामरुनमा ट्यांकरसँग बस ठोक्किदा ५३ जनाको मृत्यु

संवैधानिक जानकारहरुले भने अमेरिकी राष्ट्रपतिसँग सबैलाई मास्क लगाउन नियम जारी गर्ने कुनै अधिकार नभएको बताएका छन्। तर, बाइडनले भने आफू र उपराष्ट्रपति कमला ह्यारिसले मास्क लगाएर सबैलाई मास्क लगाउनका लागि प्रेरित गर्ने बताएका छन्।

बाइडनले सरकारी भवनका साथै यातायात क्षेत्रमा पनि मास्क आवश्यक रहेकोमा जोड दिएका छन्। उनले वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टरको रुपमा एन्थोनी फाउचीलाई कायम राख्ने समेत बताएका छन्।