‘डिसेम्बर फल्स’मा आर्यनको जोडी बन्दै उपासना

काठमाडौं। निर्माणाधीन चलचित्र ‘डिसेम्बर फल्स’मा नायक आर्यन सिग्देल र उपासना सिंह ठकुरीलाई जोडीको रुपमा देख्न सकिने भएको छ। ‘डिसेम्बर फल्स’मा नायिकाको रूपमा उपासना अनुबन्धित भएकी छन्। यो चलचित्रमा आर्यन सिग्देल यसअघि नै यसमा नायकको रूपमा चयन भइसकेका छन्।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मलाई भारतीय फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्दैछन्। लक्ष्मण रिजाल कार्यकारी र राजकुमार भट्ट निर्माता रहेको फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा, सलोन बस्नेत, नागेन्द्र रिजाल, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, सञ्चारकर्मी नरेश भट्टराईलगायतले अभिनय गर्ने पक्का भइसकेको छ भने केही कलाकारको छनोट कार्य अझै जारी छ।

अन्य सम्बन्धित समाचार:  वर्षा सिवाकोटीले छाडिन् चलचित्र 'सुदूर'

भारतीय फिल्म उद्योगमा व्यस्त रहेका छायांकार रवि नायडुले खिच्ने फिल्मको कथा बीपिका खनालले लेखेकी हुन् भने पटकथा र संवाद केदार भुसालको हो।

उपासनाले भुवन केसीको ‘क्याप्टेन’ फिल्मबाट डेब्यु गरेकी हुन्। त्यसपछि उनले रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कबड्डी’मा अभिनय गरेकी थिइन्। अभिनित दुवै फिल्मबाट उपासनाले तारिफ बटुल्न सफल भएकी थिइन्। उपासनालाई पछिल्लो समय आधा दर्जनभन्दा बढी फिल्मको अफर आएकोमा स्क्रिप्ट र टिम मन परेकाले ‘डिसेम्बर फल्स’ साइन गरेको बताइएको छ।

२०७८ साउन १ लाई प्रदर्शन मिति तोकिएको यो चलचित्र काठमाडौं र पोखरामा खिचिनेछ। दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहेको फिल्मको सुटिङ प्रस्तुतकर्ता रामप्रसादको जन्मदिन पारेर माघ ४ देखि सुरु गर्ने योजना निर्माण पक्षको छ।