सिक्टाको पानीले बाँकेका किसान उत्साहित   

 

 क्षेत्रनाथ देवकोटा,बाँके।

सिक्टा सिँचाइ आयोजनाले हिउँदे सिजनको खेतीका लागि पहिलो पटक पानी उपलब्ध गराएपछि बाँकेका किसानहरू उत्साहित छन्। आयोजनाले किसानको मागअनुसार पश्चिमी मूल नहरमा पाँच क्युसेक पानी चलाएपछि बाँकेको डुडुवा, कोहलपुर, नेपालगन्ज, खजुरा र बैजनाथ क्षेत्रको किसानहरूले करिब २० हजार हेक्टरमा गहुँ तथा तोरी खेतीका गरेका छन्।

विगतका वर्षहरूमा धान उठाएपछि बाँझै रहने खेतमा यस वर्ष सिँचाइ सुविधा उपलब्ध भएपछि गँहु र तोरी खेती सुरु गरेको कोहलपुरका किसान सव्विर सलमानीले बताए। सिँचाइ सुविधा उपलब्ध भएपछि यस वर्ष बाँकेमा गहुँ र तोरी खेती गर्ने किसानहरूको संख्या पनि करिब २० प्रतिशत बढेको छ।

सिक्टाको नहरमा पानी चलेपछि यो वर्ष बाँकेमा धानको उत्पादनमा करिब २५ प्रतिशतले बढेको छ। बैजनाथका किसान शिवप्रसाद थारूले भने, ‘सिँचाइ सुविधा भएपछि धान राम्रो फल्यो अब गहु र तोरी पनि राम्रो फल्ने आशा छ।’

सिक्टाको मूल नहरको निर्माण कार्य सम्पन्न भए पनि मूल नहरको पानी किसानको खेतबारीमा पानी  पुर्‍याउने शाखा र प्रशाखा निर्माण सम्पन्न भइनसकेकाले किसानहरूले नहरबाट पम्पसेट लगाएर पानी तानेर खेतबारीमा सिँचाइ गरिरहेका सिक्टा सिचाई आयोजनाका प्रमुख लोक बहादुर थापाले बताए।

मूल नहरबाट किसानको खेतसम्म पानी पुर्‍याउन सातवटा शाखा र ५० वटा उपशाखा गरेर करिब १०० किलोमिटर नहर निर्माणको काम भइरहेको छ। बाँकेको करिब ३४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले १४ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य २०७० को माघसम्म पूरा हुने लक्ष्य राखिएको थियो।

तर, निर्माण सम्पन्न हुनु पर्ने अवधि सकिएको सात वर्ष बितिसक्दा पनि नहर निर्माणका काम भने करिब ६५ प्रतिशत मात्रै सकिएको छ। आयोजना सुरु हुँदा १२ अर्ब ७० करोड रुपैयाँको लागतमा नहर निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएका थियो। 

अन्य सम्बन्धित समाचार:  मोतिपुर औद्योगिक क्षेत्र विवादमा स्थानीयलाई प्रतिकारमा उतार्दै सरकार