जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका थुनुवा मृत फेला

आकाश देवकोटा, बाँके।

जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको शौचालयमा बिहीबार राति एक अभियुक्त मृत फेला परेका छन्। बाँकेको डुडुवा गाउँपालिका-३, वनकट्टीमा भएको बालक अपहरण तथा हत्या काण्डमध्येका एक अभियुक्त बावुलाल रैदास शाैचालयमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

उनी हिरासत कक्षको शौचालयमा रहेकाे झ्यालको डण्डीमा टाउकोमा बाँधेको कपडाको पासो लगाई मृत अवस्थामा फेला परेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए। रैदासमाथि अभद्र तथा कर्तव्य ज्यान मुद्दामा समेत अदालतबाट म्याद थपेर अनुसन्धान भैरहेको बताइएको छ।

रैदासका आफन्त, वडाका जनप्रतिनिधि, वकिल, चिकित्सक, मानवअधिकारवादी, स्थानीय प्रशासन र आफनो माथिल्लो निकायलाई खबर गरेर प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी पोष्टमार्टमको लागि शवलाई भेरी अस्पतालमा लैजाने तयारी गरेको छ।

अन्य सम्बन्धित समाचार:  हत्याको आशंकामा जल्दै गरेको शव प्रहरीद्वारा बरामद

तत्कालीन भूमिगत समूह तराई जनतन्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) समूहमा आबद्ध रहेर रैदासले विभिन्न अपराधिक क्रियाकलाप गर्दै आएका प्रहरीको भनाइ छ। उनले यसअघि पनि हातहतियार तथा खरखजाना मुद्दामा ८ वर्ष जेल सजाय पाइसकेका छन्।