लेखौं के लेखौं! नलेखाैं‌‍ खसखस लाग्ने

कहिलेकाहीं मलाई के लेखौं के हुन्छ। लेख्ने बानी लागेपछि नलेख्दा पनि खसखस लाग्ने। लेख्न बस्यो के के लेख्छु के के। मन न हाे, चुप लागेर बस्नै मान्दैन। कहिलेकाहीँ त लेखेपछि ब्यर्थै लेखेछु जस्तो पनि लाग्छ। अनेक तर्कनाकाबीच जे पर्ला-पर्ला भनेर लेख्न थालेँ‌‌।

अचानक सम्झेँ केपी बालाई।

यसो उसो गर्यो उही केपी बाको नै झल्को आउने। उमेरले चार बीसका उनको जोस र जाँगर देख्दा म नाथे केही हैन रहेछु भन्ने लाग्छ घरीघरी। त्यसो त दुई बीस पनि नपुगेको मेरा कुराले के अर्थ राख्ला र भनेर मनमनै सोच्ने बानीले त कति कुरा लेखेकै छैन मै‌ले। जे भए पनि प्रधानमन्त्री केपी बाको कामभन्दा कुरो ज्यादै जोसिलो लाग्छ मलाई।

त्यसो त  धेरै नवजवानहरु दिउँसोभरी क्यारेम र पोट खेलेर दैनिकी गुजारिरहँदा हाम्रा प्रधानमन्त्री बाको जोस जाँगर देखेर त्यसै त्यसै भावविभोर हुन्छु। भलै उनले चाहेकाे जति गर्न नसक्नुमा खै कसकसका हात छन्। तर बेलाबखत बाले बालुवाटारतिर घाम तापेर दुखाएकाे चित्तले मेराे मन हुँडलिएर आँउछ।

केपी बाको कुरो सुन्दा एक मन त हो कि जस्तो पनि लाग्छ। बूढाले यो उमेरमा त  देश र जनताको भलाइको लागि भाषण यति जोसिलो गर्छन् भने विकासका योजना उनका कति पो हुँदा हुन्।

जे होस् हरेक मञ्चमा ठडिएर उनले दिने गरेका आश्वासनले यो मुलुकमा धेरै नै परिवर्तन भैसक्नु पर्ने थियो भन्ने पनि लाग्छ।

पेशाले कलम चलाएर दुई छाककाे जाेहाे गर्ने सानाे कलमजीवी म। केही दिनअघि न्युजरुममा देश दुनियाँको समाचार बनाउँदै थिएँ, फ्याट्टै मेरो आँखा केपी बाले कीर्तिपुरमा दिएको भाषणमा पर्यो। 

बूढाले धर्मका नाममा परस्परमा घृणा तथा द्वेष फैलाउने काम बन्द हुनुपर्ने बताए। यो एकदमै राम्रो कुरा हो। आफ्नै पार्टीमा अनेक उतारचढाव आए पनि बालाई धर्मको नाममा सिर्जना हुनसक्ने घृणा तथा द्वेषको भने ज्यादै चिन्ता रहेछ।

कीर्तिपुर नगरपालिकाको चोभारस्थित सुलक्षण कीर्ति विहार परिसरमा ज्येष्ठ नागरिक आवास गृहको शिलान्यास गर्दै उनले धर्मको मूलमन्त्र शान्ति र मेलमिलाप तथा एकता हुनुपर्ने बताएछन्। तर बाकाे कुरो सुन्दा र उनकै पाटीभित्रको रडाको देख्दा भने मलाई प्रधानमन्त्री ज्यूको कुरो कताकता बाझिएको हो कि भन्ने लाग्यो।

तपाईँ भन्नु होला ‘प्रधानमन्त्री गर्छन् आग्राको कुराे तँ गर्छस् ग्रागाको कुरो भनेर।’ कुरो के भने नि, सधैं मेलमिलाप र एकतामा जोड दिने हाम्रा प्रधानमन्त्रीले पार्टीभित्र चाहिँ यो मन्त्रलाई पालना गर्न सकेनन् भन्ने पनि लाग्यो होला तपाईँलाई। देश बनाउन पर्छ, देश समुन्नत होला भनेर तपाईँ हामी सब मिलेर उनकै दललाई जिताएकै पनि हाे नि, हैन र? 

तर पनि पाँच वर्षको अवधिमा हाम्रा प्रधानमन्त्रीले केही गरेनन् भन्ने पक्षमा अझै पनि छैन है‌ म। त्यसाे भए कुराे के हाे त भन्न सक्नुहुन्छ तपाईँ।   

तर जति बाले कुरा गरे, त्यति काम चाहिँ गर्न सकेनन् भन्ने लाग्छ मलाई। कति न बूढाले पूर्वपश्चिम रेल चलाउलान् भनेर दंग परेको म नाथे उही जनकपुरमा बडो तामझामका साथ भित्राइएको रेल पनि पालले छोपेर राखेको देख्दा विरक्तिएको छु।

त्यो रेल छाेपेर राखे पनि कुनै दिन चल्ला भनेर फेरि बाको पूर्वपश्चिम रेलको कुरो झल्याँस्स सम्झेँ। एक मन त्यही जनकपुरको रेल त छाेपेर राख्नेहरुले अब के पूर्वपश्चिम रेल चलाउलान् भन्ने  पनि लाग्न पाँउछ नि मलाई। 

चुनाव ताका बूढा जहाँ जान्थे उहीँ सुखी नेपाली र समुन्नत नेपालको नारा अलाप्थे। घरी हाम्रा पार्टीका फलानोलाई जिताउनुस्, “यसो गर्छु, उसो गर्छु” भनेर बूढाले कति चोटि भने कति। तर अहिले हेर्नुहोस् त पारा! पार्टीभित्र अनेक बखेडा निकालेर देश दुनियाँ हँसाएको भन्ने आरोप बिचरा उनलाई।

अनि सडकमा राजत्रन्त पुनर्स्थापनाको लागि “राजा आउ देश बचाउ” भन्ने नारा लाग्दा पनि दाेष उनकै टाउकाेमा। त्यसाे त हिजाेआज मंसिरकाे चिसाे नै कम हुने गरी राजावादीहरुकाे रापिलाे नारा सुनिन थालेका छन्। त्याे नारा माैसमी हाे या बेमाैसमी त्याे त म जस्ताे बबुराेले के भन्नु? तर विचार अभिव्यक्ति दिन पाउने नागरिककाे अधिकारमा भने न केपी बाले चित्त दुखाउन मिल्छ न अरुले।

भन्नेहरु भन्न थालेका छन्- ६०१ राजाहरुले देश सकाए, भ्रष्टाचार माैलायाे। यसाे हेर्दा हाे जस्तो पनि लाग्छ। मुलुकमा जताततै लुटत्रन्त मच्चिएकाे टुलुटुलु हेर्न सिवाय अरु केही गर्न सक्या छाैँ‌ र हामीले।

गएको बुधबार नै पनि भ्रष्टाचार दिवसकाे छेकाे पारेर हाम्रा प्रधानमन्त्रीले फ्याट्टै भनेछन्- ‘भ्रष्टाचार कम भयाेे’। मेरी आम्मै! बूढाले भनिसकेपछि यसाे समाचारहरु खाेज्न के थालेकाे मात्र के थिएँ, ट्रान्सफरेन्सी इन्टरनेशनलको ग्लोबल करप्सन ब्यारोमिटरले २०७७ मंसिर ९ गते, मंगलबार प्रकाशन गरेकाे एउटा समाचार देखिहालेँ। जसमा भ्रष्टचार सम्बन्धी अनुसन्धानमा सहभागीमध्ये ८४ प्रतिशत नेपालीले भ्रष्टाचारको मूल कारण सरकार भएको बताएका रहेछन्। याे प्रतिवेदन  केपी बाले नदेख्या हाे कि भनेर साेच्दासाेच्दै अर्काे साथीले फ्याट्टै भने- ‘बूढाले किन नदेख्नु, याे प्रतिवेदन हेरेर पनि नमान्ने भनिसके।’

म तीन चकित खाएँ।

हैन, बूढाले त्यसाे त भन्नु नपर्ने। के भएछ भनेर रनभुल्लमा परिरहँदा ‘खाली खुट्टा दुईवटा हातमा सिङमाङमा घ्यू बाेकेर काठमाडाैँ‌ छिरेर राजनीति गर्न थालेकाहरुकाे याद आयाे। जसकाे राजधानीमा सुविधासम्पन्न महल छ, दुईचार वटा महँगा त माेटरगाडी नै छन्। बै‌क ब्यालेन्स त कति हाेला? उनीहरु राजनीतिमा लागेर थाेरै समयमा कहाँबाट कहाँ पुगे‌ भन्ने पनि लाग्याे।

प्रतिवेदनमा त्यति मात्र हैन नि हजुर, पछिल्लो १२ महिनामा सार्वजनिक सेवा लिएकामध्ये १२ प्रतिशतले सार्वजनिक सेवा लिँदा घुस दिएको तथा २९ प्रतिशतले आफ्नो व्यक्तिगत पहुँचको प्रयोग गरेको पनि उल्लेख रहेछ।

अनि नेपालमा मत खरीद हुने गरेको कुराे समेत रहेछ है‌। १३ प्रतिशतलाई मतको सट्टा घुसको प्रस्ताव गरिएको र ७ प्रतिशतले सार्वजनिक सेवा लिँदा यौन दुर्व्यवहारमा परेको वा अन्य कोही परेको जानकारी दिएछन्। यसरी हेर्दा  नेपाल ट्रान्सपरेन्सी इन्टरनेशनलको २०१९ को करप्सन पर्सेप्सन इन्डेक्समा १८० देशमध्ये ११३औं स्थानमा परेछ।

याे हेरिसकेपछि फेरि मलाई यो मुलुकमा ‘राजा आउ, देश बचाउ’ भनेर सडकमा लागेकाे नारा उदेक लाग्दाे लागेन है। देशको ढुकुटी रित्याएर धेरै छोटे राजाहरुलाई पाल्नु र सत्ता र शक्तिकाे उन्मादमा देश लुट्न दिइरहनु पर्छ भन्ने लाग्दै लागेन।

त्यसो त विकास हुन नसक्नु र भष्ट्राचार चुलिनुमा केपी बाको मात्र हात छ भनेर भन्ने पक्षमा छैन म। बिचरा यो उमेरका प्रधानमन्त्री जो हरेक दिन देश विकासको नारा अलाप्छन्, जोस जाँगर देखाँउछन्, उनलाई दोष थुपार्नु म नाथेको के औकात।

त्यसैले यसमा केपी बाको मात्र दोष छैन। यसमा अरुहरुको पनि दोष देखिन्छ।

हामी जनता पनि के कम। काम हुन्छ भने घुस खुवाउन पनि तयार। ‘जसाे जसाे पुराेहित उसै उसै स्वाहा’ भन्न मन लाग्छ के घरीघरी।

जे होस् यतिखेर प्रधानमन्त्रीले चुनावी घोषणापत्र ताका गरेका बाचाहरु पूरा हुन नसक्दा जनता निराशाको पहाड बोकेर हिँड्न बाध्य छन् भनेर धेरैले भन्ने गरेकाे पनि सुन्ने गरेकाे छु। यो कोरोनाको महामारीमा पनि हाम्रा दाजुभाइले  कमाउनकै लागि देश छोड्न पर्याे भनेर गरेकाे दुखेसाे पनि अस्ति सिनामंगलमा चिया खाँदै गर्दा मैले खुद सुन्या हुँ।

यी सब दृश्यहरु हाम्रा सरकार सञ्चालकहरुलाई पचिसक्यो भन्नु भाको होला हैन।

त्यही त, त्यही कुरा त गर्दैछु नि म।

अब त्यसो भए यसमा धेरै अघि बढिरहन परेन।

आफ्नै पार्टी त राम्रोसँग सञ्चालन गर्न नसक्नेहरुले के देश बनाउलान् भनेर भन्नु भा’को?  त्यसाे हैन, केपी बाको भाषण मात्र सुनिदिने हो भने देश अझै बन्छ, नआत्तिनुहोस्। हामी सबै मिलेर देश बनाउनु पर्छ। बयलगाडा चढेर अमेरिका पुगिन्न भन्नेहरुलाई देखाउनु पर्छ। नेपालकाे झण्डा भएकाे पानीजहाज चलाउनुपर्छ।

कति केपी बाको पछि लाग्या, अरु पनि त छन् भन्नुभएकाे हाे भने म त्यतै आँउदैछु। नेकपा अध्यक्ष प्रचण्डलाई बिर्सियो भने त घोर अन्याय हुन्छ। जसले वर्गीय खाडल पुरेर जनताको उम्मुक्तिको लागि जनताकै छोराछोरी काखी च्यापेर जंगल छिरे। बम र बारुदसँग लडे। ज्यानलाई हत्केलामा राखेर आजको अवस्थासम्म ल्याए। तर उनै प्रचण्डले पनि त देश र दुनियाँको परिवर्तनकोलागि भनेर नै होला त केपी बासँग घाँटी जोडेका।

एकमन भित्रभित्रै उनीहरुले नै देशलाई नदुहे के तैंले दुहुन्छस् त भनेर भन्नु भ’को भए पनि ठीकै छ। भन्न पाउनुहुन्छ। तपाईँको विचारलाई म सोहै आना कदर गर्छु। तर उनै प्रचण्डहरु चार झुण्डमा बाँडिँदा आज मुक्तिका लागि जंगल पसेकाहरुका कति बालक टुहुरा भए। कति श्रीमतीहरु श्रीमान विनाको निरश र एक्लो जीवन बाँच्दै हर रात सिरानी भिजाउन बाध्य छन्। कति बाबुआमाले छोराछोरी फर्केलान् भन्ने आशमा पिंढीको डिल कुरेर नै ईहलिला समाप्त भयो। तर सत्ताको स्वादमा छिरेपछि न प्रचण्ड, न अन्य नेताहरु, कसैले खासै केही गर्न सकेका छैनन्।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट बालबालिका जोगाउन चुनौती: स्वास्थ्यमन्त्री